१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

समृद्धि र विकासका लागि समाजवादको बाटो जरुरी : खनाल



भैरहवा ।
नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०६२/०६३ को जनआन्दोलनपश्चात बनेका कुनैपनि सरकारले जनताको समस्यालाई सम्बोधन गर्न नसकेकाले समाजवादको बाटो रोज्नुपर्ने बेला आएको बताएका छन् ।

पार्टीले सञ्चालन गरेको मेची–महाकाली अभियानका क्रममा भैरहवा आइपुगेका नेता खनालले आइतबार बिहान समाजवादी प्रेस संगठन रुपन्देहीले आयोजना गरेको पत्रकार अन्तर्क्रिया कार्यक्रममा बोल्दै मुलुकको समृद्धि र सुशासन समाजवादले मात्र गर्ने दाबी गरे ।

‘मुलुकको समृद्धिका लागि अब समाजवादीको बाटोमा जाने कि यथास्थिति पुँजीवादकै बाटोमा रहने ? भन्ने दुईवटा मात्र विकल्प हाम्रासामु छन्,’ खनालले भने, ‘समाजवादको पक्षमा जनचेतना जगाउन र जनतालाई जागरित बनाउन यो अभियान सञ्चालन गरिएको हो ।’

मुलुक आर्थिक संकटग्रस्त अवस्थामा रहेको, जनतामा विभेद शोषण व्याप्त रहेको, राष्ट्रियतामाथिको संकट झन्‌झन् बढ्दै जान थालेको र मुलुक युवाविहीन बन्ने खतरा बढेको उनले बताए । पटकपटक शासन व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको आम गुनासो जनतामा सर्वत्र रहेको पनि उनले बताए ।

आफ्नो पार्टीले सञ्चालन गरेको अभियानबाट जनतामा उत्साह देखिएको र ठूलो संख्यामा पार्टी प्रवेश हुने क्रम जारी रहेको दाबी पनि उनले गरे । नीति विचार र सिद्धान्तको आधारमा मेल खाने समूह वा दलसँग आफ्नो पार्टीको एकता हुनसक्ने खनालले बताए ।

पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले राष्ट्रियता, रोजगारी, सुशासन, जनपक्षिय विकास लगायतका विषयलाई उठान गर्न अभियान सञ्चालन गरिएको बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८० आइतबार ००:००  ४ : ५३ बजे