१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा विद्यालयको जग्गामा प्लटिङ, अख्तियारमा पर्‍यो उजुरी



बुटवल ।
कपिलवस्तुको बाणगंगा नगरपालिका– ७ मोतीपुर क्षेत्रमा रहेको कित्ता नं ५०२ उल्लेखित गुल्मीको एक विद्यालयको नाममा रहेको जग्गामा भू माफियाहरूले रजाइँ गरेको खुलेको छ ।

श्रीआत्मबोध मावि मानकोट गुल्मीको नाममा उल्लेखित जग्गाबाट स्थानीय जग्गा व्यापारीहरूले व्यापार गर्न मनपरी बाटो निकालेर प्लटिङ गरी घडेरी बिक्री योजनासमेत बनाएको समाचार छ । यसरी विद्यालयको जग्गामा मनपरी गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा उजुरीसमेत परेको छ ।

उक्त जग्गा डेढ बिगाह बढी छ । सो जग्गाको पछाडि विभिन्न किसानहरूसँग स्थानीय जग्गा व्यापारी सिद्ध अधिकारी लगायतका व्यक्तिले जग्गा खरिद गरी विद्यालयसँग सहकार्य नै नगरी मनपरी बाटो खोलेर प्लटिङ गरेपछि उक्त विषय अख्तियारमा पुगेको हो ।

उक्त विद्यालयको नाममा २०३६ सालदेखि ४ बिगाह जग्गा रहेको छ । सो जग्गा सुरुमा स्थानीयले जोतभोग गर्ने तथा विद्यालयलाई भाडाबापत केही रकम दिने गरेको विद्यालयको रेकर्डमा छ ।

पछिल्लो समय विद्यालयले जग्गाको प्रयोगमा ध्यान नदिँदा अहिले प्लटिङ गर्ने र किनबेचसमेत हुन स्थिति आएको हो । उक्त उजुरीमा सिद्ध अधिकारीले विद्यालयको जग्गा विष्णु गिरीको मिलेमतोमा दुरुपयोग गरेको आरोप लगाइएको छ ।

उता, आरोपित अधिकारीले आफूले दुई वर्ष अगाडि धर्मराज खनालसँग ११ कट्ठा जग्गा खरिद गरी अहिले बाटो बनाउने काम गरेको बताए । उनले आफूले विद्यालयको जग्गा नमिची उनीहरूले बनाएको सडकसँग जोड्ने काम मात्र गरेको बताए ।

विद्यालयको जग्गामा खानेपानी टङ्की पनि निर्माण हुँदैछ । यस्तै केही ठाउँमा सडक खोलिँदै छ । तर यसबाट विद्यालय परिवार बेखवर जस्तै रहेको छ । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद ज्ञवाली भन्छन्, ‘अहिले के भइरहेको छ, हामीलाई थाहा छैन । हामीले त्यहाँबाट कुनै आयस्रोत नल्याएको पनि धेरै वर्ष भएको छ ।’

स्मरण रहोस्, हालै रुपन्देहीको सिद्धार्थनगरपालिका–१० स्थित शवदाह गृहको जग्गा अर्घाखाँचीका गणेश घिमिरेको नाममा रहेको दुई दिनपछि भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलका जग्गा पनि भूमाफियाहरूले मालपोत कार्यालयसँग मिलेमतो गरी आफ्नो नाममा गराएको घटना बाहिर आएको थियो । उक्त दुवै घटनाको विषयमा अहिले छानबिन चलिरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

प्रकाशित मिति : २२ आश्विन २०८० सोमबार ००:००  ११ : १४ बजे