१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अमृते सामुदायिक वन उपभोक्ता समूहको १४ औँ वार्षिक साधारण सभा



बाबुराम रायमाझी, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरस्थित अमृते सामुदायिक वन उपभोक्ता समूहको १४ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।

वडा नम्बर ९ भर्तापुरमा आयोजना गरिएको साधारणसभा कार्यक्रममा अमृते सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८०/०८१ का लागि ४३ बुँदे नीति तथा कार्यक्रम र सोही नीति तथा कार्यक्रममा अधारित तीन करोड बढीको बजेट समेत सार्वजनिक गरेको छ । सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलले आर्थिक वर्ष २०८०/०८१ का लागि ३ करोड २९ लाखको अनुमानित बजेट साधारणसभा कार्यक्रममा पेश गर्नुभएको छ ।

उनले उक्त बजेट पेश गर्दै सामुदायिक वन विकासका लागि ७ लाख ७५ हजार, वन संरक्षणका लागि २५ लाख ७० हजार, गरिबी न्यूनीकरणका लागि ५५ लाख ८० हजारको बजेट सभामा पेश गर्नुभयो । यस्तै स्थानीय तहसँग लागत साझेदारीमा सामाजिक विकास पूर्वाधार निर्माणका लागि सामुदायिक वनले २० लाख बजेट पेश गरेको छ । यस्तै सम्पन्न साधारणसभामा अमृते सामुदायिक वनका कोषाध्यक्ष सीता शर्माले आर्थिक वर्ष २०७९/०८० मा २ करोड १२ लाख ३२८ रुपैँया ९ पैसा बराबरको वनको अर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन ।

यस्तै वनका लेखा समितिका संयोजक विनोद पुनले वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनले गएको एक आथिक वर्षमा वनको दिगो व्यवस्थापन, समुदायको हितका लाग वर्तमान वन कार्यसमिति, उपसमिति, विभिन्न उपसमितिका संयोजक तथा अगुवाहरुले आफ्नो कर्तव्य पुरा गरी जिम्मेवारीमा खटिएको उल्लेख गर्दै सामुदायिक वनको आम्दानी र खर्च अभिलेख सरल, स्पष्ट र पारदशिी ढंगले राखेको प्रतिवेदनमा उल्लेख गरेका थिए । कार्यक्रममा समूहका सचिव मिना सिंजापतीले वनको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन ।


कार्यक्रममा सव डिभिजन वन कार्यालय गोरुसिँगेका सहायक वन अधिकृति बसन्त थापाले भलवाडका सामुदायिक वनहरुमा वन डढेलो र यसको असर न्यूनीकरण गर्नका लागि सामुदायिक वन कार्यसमितिले अझै प्रभावकारी ढंगबाट योजना निर्माण गरी काम गर्नुपर्ने बताएका थिए । उनले यहाँका उत्तरी क्षेत्रका सामुदायिक वनहरु चुरे क्षेत्रको फेँदीमा रहेकाले डढेलोको जोखिम उच्च रहने र गत २ वर्षको तथ्याङ्कलाई हेर्दा भलवाडमा साहरा सामुदायिक वन र खुतखुते सामुदायिक वन डढेलोबाट बढी प्रभावित भएको पाइएकाले यस्को न्यूनीकरण गर्न सचेतना कार्यक्रममा जोड दिनुपर्ने बताए ।

यस्तै उहाँले वनका गतिविधिले समुदायको विकास र यहाँका नागरिकहरुको जीवनस्तर उकास्नका लागि महत्वपूर्ण काम गरिरहेको पनि बताएका थिए ।

यस्तै कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले सामुदायिक वनले बनाउने वार्षिक योजना तथा कार्यक्रम र वडाका तर्फबाट बनाइने योजनामा तालमेल मिलाउन जरुरी रहेको बताएका थिए । उनले यहाँका सामुदायिक वनहरुले कृषि क्षेत्रको विकासका लागि सिँचाई नहर तथा कुलो निर्माण, उज्यालो गाउँ निर्माण, सडक विस्तार तथा स्तरोन्‍नतिका क्षेत्रमा राम्रो काम गरिरहेको भन्दै शिक्षा स्वास्थ्य र उत्पादनका कार्यक्रममा वडाका तर्फबाट पनि कार्यक्रम रहेकाले ती योजनालाई सामुदायिक वनहरुसँगको आपसी छलफल र सहकार्यका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अमृते सामुदायिक वनका सल्लाहाकरद्वय हरिराज घिमिरे, नारायण खनाल, वनका पूर्व अध्यक्ष गोपाल गिरी, कोइली चौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुषाल, भलवाड स्वास्थ्य चौकी प्रमुख जितविकास रायमाझी, वनका संस्थापक अध्यक्ष हरिबहदुर खनाल, पत्रकार राजेन्द्र खनाल लगयतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा वडा नम्बर ९ का पूर्व वडा अध्यक्ष तथा कोटिहवा सामुदायिक वनका अध्यक्ष धुव्र बेलवासे, खुतखुते सामुदायिक वनका अध्यक्ष भिमबहादुर पुन, वैज्ञानिक वन महासंघका केन्द्रिय सदस्य नारायण पौडेल, वनका पूर्व कार्यसमितिका पदाधिकारी, पत्रकार लागयतको अतिथ्यतासहित समूहका उपाध्यक्ष मिरा पौडेलको स्वागत र सचिव मिना सिँजापतिको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अमृते समुदायिक वन ३२६ दशमलव ३७ हेक्टर क्षेत्रफलमा फैलिएको कपिवस्तुको नमुना सामुदायिक वनको रुपमा रहेको छ भने यस वनमा हाल १ हजार४ सय २७ जनसंख्या सदस्य आबद्ध रहेका छन् । यस्तै सामुदायिक वनले स्थानीय प्रयास, समाजिक युवा क्लवका लागि खेलकूदका सामग्री सहयोग प्रदान गरेको छ भने भर्तापुर आधाारभूत विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गरेको छ ।

यस्तै वन उपभोक्ता समूह भित्रका ५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । यस्तै वनका पूर्व कार्यसमितिका पदाधिकारी र सल्लाहकारहरुलाई पनि मायाको चिनो सहित सम्मान गरिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८० बुधबार ००:००  १२ : ०८ बजे