१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै



काठमाडौं ।
दशैँ एवम् नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भिड लाग्छ । काठमाण्डौ उपत्यकाका नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालीकास्थान, सङ्कटा, नरदेवीलगायत विभिन्न मन्दिरमा रङ्गीचङ्गी बत्तीले सजाइएको छ ।

बिहान दर्शनार्थीको बाक्लो उपस्थिति हुने मन्दिरमा बेलुका बत्ती बलेपछि झनै उपस्थिति बढ्ने गरेको नक्साल भगवती सामुदायिक सदनका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० आश्विन २०८० मंगलबार ००:००  ७ : ५२ बजे