११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मन्त्री भुसाल र अर्जेन्टिनाका गैरआवसीय राजदूत बीच शिष्टचार भेटघाट



काठमाडौँ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र अर्जेन्टिनाका गैरआवसीय राजदूत हृयुरो जेभियर गोबीबीच शिष्टचार भेटघाट भएको हो ।

मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत गोबीबीच भेटघाट भएको हो ।

भेटमा मन्त्री भुसालले नेपाल र अर्जेन्टिना बीचको सम्बन्ध सद्भाव, मित्रता र आपसी समझदारीमा आधारित रहेको स्मरण गरे ।

“आजको भेटले दुई देशबीचको द्धिपक्षीय सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउने ठूलो अवसर रहेको छ”, मन्त्री भुसालले भेटमा भने ।

मन्त्री भुसालले नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको सम्भावना भएको हुनाले अर्जेन्टिनाको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण हुनेमा चर्चा गरे ।

नेपालको बाजुरामा जैतुन खेती रहेको बताउँदै यसमा सहकार्य गर्न सकिनेमा उनले जोड दिएका थिए ।

भेटमा गैरआवसीय राजदूत गोबीले कृषिमा दुवै देशको परिवेश मिल्ने बताउँदै व्यवसायिक रुपमा सहकार्य गर्न सकिनेमा जोड दिए । विशेष गरी नेपालको डेरी क्षेत्र, खाद्य सुरक्षा क्षेत्र, जैतुन उत्पादन र प्रशोधनमा सहयोग गर्न सकिनेमा उनले विश्वास दिलाए । साथै आगामी दिनमा आपसी समन्वयबाट अरु थप कार्य अगाडि बढाउन सकिनेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०८० मंगलबार ००:००  ५ : २९ बजे