२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मकै जोनबाट सिन्धुपाल्चोक लाभान्वित, व्यवसायिकता तर्फ किसान उन्मुख



मायादेवी अनलाइन, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा सञ्चालन भएको मकै जोनले किसान लाभान्वित भएका छन् । परम्परागत रुपमा मकै खेती गर्दै आएका यहाँका किसान जोन कार्यान्वयनसँगै व्यवसायिकता तर्फ समेत उन्मुख भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिन्धुपाल्चोकमा आव ०७५/०७६ देखि मकै जोन सञ्चालनमा आएको हो ।

गत आवमा मात्र यहाँबाट २ सय ६० टन मकैको बीउ बाहिरी जिल्ला निर्यात गरिएको परियोजना कार्यान्वयन एकाई सिन्धुपाल्चोकका प्रमुख तथा बरिष्ठ कृषि अधिकृत भरत कँडेलले बताए ।

रामपुर कम्पोजिट जातको मकैको बीउ जिल्लाबाट धादिङ, रामेछाप, गोरखा लगायतका जिल्लामा निर्यात गरिएको कँडेलले जनाए ।

कार्यालयका अनुसार आफ्नो कार्यक्षेत्र भित्र ४ हजार ३४२ मेट्रिक टन मकै उत्पादन भएको छ । मकै जोनमा जिल्लाका ५ पालिकाका केही वडामा गरी ८ सय ६५ हेक्टर क्षेत्रफलमा यो कार्यक्रम लागू छ ।

जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नं. ४ र ६, बलेफी गाउँपालिकाको वडा नं. २, ३, ४, ५ र चौतारा सागाचोकगढी नगरपालिकाको वडा नं. ४ देखि १४ वडा, इन्द्रवती गाउँपालिकाको ५ देखि १२ वडा र मेलम्ची नगरपालिकाको १, २, १२ र १३ वडामा मकै जोनको कार्यक्रम लागू रहेको परियोजना कार्यान्वयन एकाई सिन्धुपाल्चोकले जनाएको छ ।

परियोजनाले मकै खेती गर्ने किसानलाई उन्नत बीउ खरिदमा ५० प्रतिशत अनुदान दिदैं आएको छ भने यान्त्रिकीकरणमा समेत अनुदान उपलब्ध गराउँदै आएको छ ।

परियोजना कार्यान्वयन एकाईका कृषि अधिकृत जयबहादुर महत्राका अनुसार परियोजनाले स्प्रिे ट्याङ्की, मिनि टिलर, ज्याव प्लान्टर लगायतका प्रविधि किसानलाई अनुदानमा वितरण गरेको छ । यस्तै बीउको प्रशोधन, भण्डारण सम्बन्धि सुविधाका साथै साना सिंचाईका लागि पनि सहयोग गर्दै आएको महत्राले बताए ।

गाउँघरबाट बसाईसराईँ गर्नेको संख्या बढिरहेको छ । खेतीयोग्य जमिन बाँझो भइरहेको छ भने निर्वाहमूखी खेती प्रणाली अपनाउदा किसानलाई बर्षभरी खान नपुग्ने स्थिति छ । यस्तो बेला मकै जोन कार्यक्रमले किसानलाई आधुनिक खेती गर्न उत्साह जगाएको परियोजनाको बुझाई छ ।

मकै जोनमा किसान खेतीपातीमा टिकेको र विस्तारै किसानहरु व्यवसायिकता तर्फ उन्मुख भएको बुझाई परियोजनाको छ ।

देश मकैमा आत्मनिर्भर नभइरहेको बेला सिन्धुपाल्चोकले मकै जिल्लाबाट बाहिरी जिल्ला निर्यात गरिरहेको छ । देशभर मकैको माग बढ्दो क्रममा छ । यस्तो बेला मकैको आयात प्रतिस्थापन गर्नका लागि यस्तै कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छ ।

बर्षेनी यहाँ दुई सिजनमा मकै खेती गर्ने गरिएको छ । सिंचाईको सुविधा हुन स्थानमा दुई सिजनमा मकै उत्पादन हुँदै आएको परियोजनाले जनाएको छ । जंगली जनावर बाँदर र बँदेलको समस्या भइरहेको बेला यसको जोखिम हटाउनका लागि तीन वटै सरकार लाग्नुपर्नेमा यहाँका किसानको माग छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८० शनिबार ००:००  ८ : २२ बजे