११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित



काठमाडौं ।
नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित भएका मनोचिकित्सकहरूले बताएका छन् । आज मङ्गलवारदेखि काठमाण्डौमा शुरु भएको १४ औँ सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलनमा सार्क राष्ट्रका मनोचिकित्सकहरूले यो जानकारी दिएका हुन् ।

मनोचिकित्सक डा. कमल गौतमले विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरू ८४ प्रतिशत रहेको बताउनु भयो । उहाँले नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित रहेका बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले समग्र स्थिति हेर्दा विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरू ८४ प्रतिशत रहेका छन् । धेरैजसो यो सङ्ख्या विकासोन्मुख देशहरूमा छ । नेपालको अवस्था हेर्दा झन्डै ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित छन् । सार्कमा समग्रमा विकासोन्मुख देशको अवस्था उस्तै रहेको छ । आत्महत्याको तथ्याङ्क हेर्दा एसियामा जनसङ्ख्याको हिसाबले भारतमा सबैभन्दा धेरै छ ।’

सम्मेलनमा मनोचिकित्सक डा. सरोज ओझाले कडा खालको मानसिक रोगको उपचार राज्यले गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा मानसिक स्वास्थ्य ऐन छुट्टै बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आत्महत्या रोकथामका लागि राज्यले जनमानसमा जनचेतना फैलाउने तथा पीडितले अचानक सेवा चाहिए कहाँबाट सेवा लिने भन्नेका लागि हटलाइन सर्वसुलभ गर्ने र दक्ष जनशक्तिबाट आवश्यक परामर्श दिन आवश्यक रहेको बताउनुभयो ।

सम्मेलन भोलि बुधवारसम्म चल्नेछ । सम्मेलनमा सार्क राष्ट्रमा मानसिक समस्याबाट बेहोर्नुपरेको क्षति, उपचारको उपायका बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०८० मंगलबार ००:००  ६ : ५७ बजे