४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

विदेशी मुद्रा सञ्चिति १६ खर्ब ४३ अर्ब रुपैयाँ पुग्यो



काठमाडौं ।
चालु आर्थिक वर्षको तीन महिनामा विदेशी विनिमय सञ्चिति छ दशमलव सात प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति छ दशमलव सात प्रतिशतले बढेर असोज मसान्तसम्ममा १६ खर्ब ४३ अर्ब नौ करोड रुपैयाँ पुगेको छ ।

यस्तै असोज मसान्तसम्मको शोधनान्तर स्थिति ९९ अर्ब सात करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा थियो ।

यही अवधिमा सरकारको चालु खाता ५९ अर्ब नौ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा चालु खाता ३५ अर्ब २४ करोड रुपैयाँले घाटामा रहेको थियो । त्यस्तै वैदेशिक लगानी तीन अर्ब ३७ करोड रुपैयाँले धनात्मक रहेको छ ।

चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२ दशमलव चार महिनाको वस्तु आयात र १० दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८० शुक्रबार ००:००  ३ : २० बजे