१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चाडपर्व मनाउँदा सबै चिज बाहिरको भर गर्नुपर्ने स्थिति छ : सांसद पन्थी



मायादेवी अनलाइन, बाणगंगा ।

लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले दलहरुबीच एकताको सुत्रले मात्र अघि बढ्न सके आफ्नो क्षेत्रको विकास र समृद्धि हासिल हुने बताउनुभएको छ ।

शुक्रबार बाणगंगा नगरपालिका वडा न. २ ले आयोजना गरेको शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद पन्थीले सो कुरा बताउनुभएको हो ।

उहाँले पूर्वी कपिलवस्तुलाई माथि उठाउने गरी शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई सुविधा, विकास निर्माण लगाएतका कामहरु एकसाथ अघि बढेको जानकारी दिनुभयो । यसक्षेत्रका संघ संस्थाहरु पनि बलिया हुँदै गएकाले नयाँ नयाँ कामहरुको पनि शुरुवात भएको सांसद पन्थीले बताउनुभयो ।

साथै उहाँले तिहारको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । तिहारमा प्रयोग हुने मालामा समेत विदेशमा निर्भर हुनुपरेको भन्दै यसको अन्त्य जरुरी रहेको धारणा राख्नुभयो ।

नेपालीहरुले चाडपर्व मनाउँदा सबै चिजमा बाहिरको भर गर्नुपर्ने स्थिति छ, फूल देखि लिएर धेरै चिज किन्नुपर्दछ, यो लाजमर्दो कुरा हो, कसलाई के भन्ने हो ? बजार भरी केमिकलयुक्त प्लाष्टिकको माला छ, पन्थीले भन्नुभयो, त्यसको प्रयोग गर्दा स्वास्थ्यलाई पनि फाइदा गर्दैन भने अर्को तिर धन पनि चिलाउँछ, पैसा बाहिर जान्छ ।

अर्को प्रसंगमा उहाँले भन्नुभयो, ‘चिनी महंगो छ तर नकिनी छोड्दैनौँ, हामीकहाँ जति महंगो भएपनि किनेरै खान्छौं तर जापानमा कुनै चिजको भाउ महंगो भइदियो भने उनीहरुले किन्दैनन्, हामी कहाँ त्यो परिपाटी भएन, जतिसुकै महंगो होस्, नकिन्ने हो भने भाउ घट्छ अर्कोतिर स्वास्थ्यलाई पनि फाइदा हुन्छ ।’

त्यस्तै पटका पड्काउँदा पनि लाखौं पैसा बाहिरिन्छ, भने जीउलाई पनि जोखिम हुन्छ अर्को तिर वातावरण पनि प्रदुषण हुन्छ, सांसद पन्थीले भन्नुभयो, ‘उता पैसाको पनि नाश भइरहेको हुन्छ यसतर्फ सबै सचेत बनौं ।’

त्यस्तैगरी बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले सम्पूर्ण नगरवासीलाई शुभकामना व्यक्त गर्दै हाम्रा संस्कृति र चाडपर्वको जगेर्ना गर्दै मौलिकपनलाई जोगाई राख्नुपर्ने बताउनुभयो । चाडपर्वमा उपभोक्ताको स्वास्थ्यमा खेलवाड नगरी खाद्य स्वच्छतामा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले वडा प्रदेशमै उत्कृष्ट वडा भएको बताउनुभयो । शुभ दिपावली तथा छठ पर्वको अवसरमा बाणगंगा नगरपालिका वडा नं. २ मा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नगर प्रवक्ता समेत रहनु भएका पौडेलले सम्पूर्ण वडावासी तथा नगरवासीलाई शुभकामना व्यक्त गर्दै एक करोड बढीको लागत साझेदारी गरेर विकास निर्माणका काम अघि बढाएको बताउनुभयो ।

‘लागत साझेदारीमा प्रदेशमै एक नम्बर छ । उहाँले सबै समुदायलाई समान ढंगले अघि बढाउन नगरको नेतृत्व लागिरहेको छ, वडा लागिरहेको छ, सफलता प्राप्त हुन्छ, त्यसका लागि सबैको सहयोग र सहकार्य जरुरी छ’, वडाध्यक्ष पौडेलले भन्नुभयो ।

‘नन्दनगर देखि लखनपारासम्म समान ढंगले विकास भएको छ । हाम्रा वडाबासीको दुःख र सुखमा सधैं सँगै छु, कोहीको गुनासो छ भन्ने मैंले सुनेको छैन् । उत्कृष्ट वडा छ सबै मानेमा शिक्षा, स्वास्थ्य, बाटो घाटो, पिपरा अस्पतालमा सेवा वृद्धि गर्दछौँ ।

विकासको सवालमा सबै दलले आफ्नो सामर्थ्यलाई वडा समृद्ध बनाउने काममा जुटौं वडावासीलाई शुभकामना व्यक्त गर्दै वडाध्यक्ष पौडेलले उक्त सन्देश दिनुभएको हो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रमुख, शसस्त्र प्रहरी पिपराका प्रमुख, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बाणगंगा खानेपानी उपभोक्ता समूहका अध्यक्ष, विद्यालयका प्रमुख, सामुदायिक बनका अध्यक्ष, टोल विकास संस्थाका प्रतिनिधी, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

कार्यक्रमको संचालन नगरका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसिको संचालन तथा कार्यपालिका सदस्य शान्ता पाण्डेको स्वागतमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८० शुक्रबार ००:००  ६ : ४० बजे