११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

सैनामैना व्‍यापार मेलामा ५ करोड कारोबार लक्ष्य



बुटवल ।
रुपन्देहीको सैनामैनामा मंसिर ६ गतेदेखि सञ्चालन हुने छैठौं राष्ट्रिय कृषि,पर्यटन, प्रविधि तथा औद्योगिक ब्यापार महोत्सवको तयारी पूरा भएको छ ।

‘आर्थिक विकासको आधार स् कृषि, पर्यटन, उद्योग र व्यापार’ नाराका साथ सैनामैना उद्योग वाणिज्य संघले मुर्गिया चोकस्थित दुर्गा मन्दिर परिसरमा मंसिर १७ गतेसम्मस ञ्चालन गर्ने मेलाको आवश्यक तयारी पूरा भएको आयोजकले जनाएका छन् ।

मेलामा औद्योगिक उत्पादन, कृषि, हस्तकला, पर्यटन, अटोमोवाइल्स, सूचना प्रविधिका गरी दुई सय बढी स्टल रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

सहभागी हुने स्टलमध्ये ६० प्रतिशत स्थानीय उद्योग र कृषिजन्य हुने आयोजक संस्थाका अध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिए । मेलामा ३ लाख ५० हजार दर्शकलाई अवलोकन गराउने र अन्दाजी ५ करोडको कारोबार हुने लक्ष्य रहेको खड्काले बताए ।

मेलाले शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउन र स्थानीय उत्पादनको बजार प्रवर्द्धनमा टेवा पुराउने अपेक्षा गरिएको छ ।

मेलाले उद्योगी व्यवसायीहरुमा स्वच्छ व्यावसायीक प्रतिस्पर्धाको वातावरण सिर्जना गराई लगानीको अवसर सिर्जना गर्ने, निकासीयोग्य वस्तुहरुको पहिचान र प्रवर्द्धनमा सहयोग पुर्‍याउने र स्थानीय स्तरमा विभिन्न रोजगारीका अवसरहरुको सिर्जना गर्ने अध्यक्ष खडकाले बताए ।

मेला अवधिमा युवा उद्यमीहरुलाई प्रोत्साहनस्वरुप सम्मान, सैनामैना औद्योगिक ग्राममा उद्योग स्थापना गर्न सैनामैना नगरपालिकाको समन्वयनमा लगानी सम्मेलन, युवा उद्यमशिलता गोष्ठी सञ्चालन र बैंक तथा लगानीकर्ता साथै व्यवसायीहरुबिच वर्तमान ब्याजदरको बारेमा अन्तरक्रिया गरिने वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले बताए ।

मेलामा सैनामैना डान्सिङ्ग आइडल, मम्मी डान्स प्रतियोगिता, नगरस्तरीय विद्यालय लोक नृत्य प्रतियोगिता, जिल्ला स्तरीय लोकदोहोरी प्रतियोगिता, भजन तथा र्‍याप प्रतियोगिता हुने सांस्कृतिक कार्यक्रम उपसमितिकी सीता क्षेत्रीले बताइन् ।

मेलाको प्रत्येक टिकटबाट एक रुपैयां सामाजिक कामका लागि छुट्टाइएको संघका महासचिव लोकनाथ अधिकारीले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०८० सोमबार ००:००  ४ : ४५ बजे