१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज हरि बोधिनी एकादशी



काठमाडौं ।
आज हरि बोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ ।

कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरि बोधिनी एकादशी पर्व मनाइन्छ । हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भन्ने गरिएको शास्त्रीय मान्यता छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आजको दिन काठमाण्डौ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाण्डौका शेष नारायण र इचङ्गुनारायण लगायतका ठाउँमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाण्डौको उत्तरी भेगमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । सबै नारायण मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । मेला लाग्ने ठाउँका पालिकाहरुले आज सार्वजनिक बिदा दिएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८० बिहिबार ००:००  ८ : ३७ बजे