१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेलामा १८ लाख रुपैयाँभन्दा धेरै सङ्कलन



पाल्पा ।
चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेलामा १८ लाख रुपैयाँभन्दा बढी सङ्कलन भएको छ । तिनाउ गाउँपालिका–४ को सत्यवती तालको धार्मिक मेलामा १८ लाख ५० हजार तीन सय ३१ रुपैयाँ सङ्कलन भएको हो ।

यही मङ्सिर ७ देखि ११ गतेसम्म सञ्चालन भएको मेलामा भेटी र सहयोगबापत १८ लाख रुपैयाँभन्दा धेरै सङ्कलन भएको सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुभयो । आर्थिक पारदर्शिताका लागि मेला सकिएसँगै मन्दिर व्यवस्थापन समिति, गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिको उपस्थितिमा आम्दानीको हिसाब सम्पन्न भएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।

कात्तिक महिनामा बाला चतुर्दशी र पूर्णिमा पर्ने वर्ष मात्र सत्यवती मेला लाग्ने गरेकोमा अहिले अहिले बाह्रै महिना दर्शनार्थी सत्यवती तालमा पुग्ने गरेका छन् । सत्यवती तालमा पुगेपछि बाँसको लिङ्गो गाड्ने र राती पूजा गर्दा त्यही लिङ्गो चिनेर पूजा गरी चिच्याउँदै तालको परिक्रममा गरेर वर माग्ने गरिन्छ । यो वर्ष जोग नपरेको भए पनि एक लाख ५० हजारभन्दा बढी भक्तजन तालमा पुगेका आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८० शुक्रबार ००:००  ७ : ०७ बजे