१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शासकीय सुधारका लागि आयोग गठन हुन्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्ने तयारी गरिरहेको बताउनु भयो ।

उहाँले सरकारको ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताउनु भएको हो । बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समग्र शासकीय प्रणालीमा सुधार गरेर अघि बढ्ने सरकारको सोच रहेको बताउनुभयो ।

उहाँले जनताले अनुभूति गर्ने गरी सेवा प्रवाहको कामलाई अघि बढाउनका लागि समेत देशको समग्र शासकीय प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको दोहोर्‍याउनु भयो । प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व लिने बेलामा नतिजामुखी काम गर्न मन्त्रालयका सचिवहरुलाई दिएको निर्देशन अनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उहाँले देशको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आमूल परिवर्तनकारी सोचका साथ अघि बढ्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘सोचेजस्तो शासकीय सुधारको काम गर्न सकिएन । अब सरकारको ध्यान खाली शासकीय सुधार गर्ने कुरामा मात्रै होइन समग्र शासकीय प्रणालीमा नै सुधार गर्ने कुरामा हामी छलफल गरिरहेका छौँ । र, शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौँ । त्यसकारण यो छलफलले हाम्रो त्यो सोचलाई प्रत्यक्षरुपले सहयोग पुग्छ भन्ने मैले महसुस गरेको छु । हामीले सेवा प्रवाहको क्षेत्रमा सानासाना कामहरुमा सुधार गरेर अनि ठूलाठूला कामहरुलाई ‘प्रायोटाइज’ गरेर जान जरुरी छ । नागरिकले प्रत्यक्ष रुपमा आफूलाई सेवा प्राप्त भएको अनुभूत गरेन भने सरकारप्रति पनि, राजनीतिक दलहरुप्रति पनि र हाम्रो कर्मचारीतन्त्रप्रति पनि नागरिकको भरोसा कमजोर हुँदै जाने, विश्वास टुट्दै जाने हुन्छ । त्यसकारण हामीले तत्काल नागरिकलाई सेवा प्रवाह गर्ने कुरालाई कसरी कुन कुरामा केन्द्रित गरेर विद्यमान ऐन, कानुन भित्रै बसेर सुधार गर्न सकिने सेवा प्रवाह के हो, हामीले ऐनहरु संशोधन गरेर दीर्घकालीन ढंगले जानुपर्ने के हो भनेर ठोस निष्कर्षमा पुग्नुछ ।’

प्रधानमन्त्री दप्रचण्डले जनतामा उत्साह आउने गरी परिणाममुखी काम गर्न पनि मातहतका सबै निकयलाई सचेत गराउनु भयो ।

प्रकाशित मिति : २० मंसिर २०८० बुधबार ००:००  २ : ४५ बजे