२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

लुम्बिनीको राजधानी क्षेत्रको जग्गा फुकुवा सुरु



दाङ ।
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा रोक्का भएको जग्गा खरिदबिक्रीका लागि फुकुवा गरिएको छ । मालपोत कार्यालय लमहीले बुधबार सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा फुकुवा भएको जानकारी दिएको हो ।

एकल स्वामित्वको जग्गाधनी कायम रहने आधारमा मात्र कित्ताकाट नहुने गरी र जुनसुकै प्रकारको भवन जग्गा आदि अचल सम्पत्तिको स्वरुप परिर्वतन गर्न नपाउने गरी खरिदबिक्रीका लागि बैधता प्रदान गरिएको मालपोत कार्यालय प्रमुख मानबहादुर कुवँरले जानकारी दिए । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिपत्रका आधारमा उक्त निर्णय गरिएको प्रमुख कुँवरले स्पष्ट पारे ।

राजधानी क्षेत्रमा पर्ने राप्ती गाउँपालिकाका सबै वडा र गढवा गाउँपालिकाका वडा नं १, २ र ३ को जग्गा फुकुवा भएको हो ।

जग्गा फुकुवाका लागि स्थानीयले पटक–पटक आन्दोलन गरेका थिए । २०७७ सालमा उक्त जग्गा खरिदबिक्री रोक्का गरिएको थियो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी घोषणा गरेसँगै जग्गा रोक्का गरिएको थियो ।

प्रदेश राजधानी रहने राप्ती गाउँपालिकाका पूरै नौ वटा वडा, गढवाको १, २ र ३ नम्बर वडा र अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नम्बर ८ र ९ को जग्गा रोक्का गर्ने निर्णय भएको थियो ।

हेर्नुहोस् जग्गा फुकुवा सम्बन्धी सूचना

प्रकाशित मिति : २१ मंसिर २०८० बिहिबार ००:००  ८ : ३१ बजे