१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो



एजेन्सी ।
नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाकै उच्चतम स्तरमा पुगेको छ ।

अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) ले बिहीवार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ । यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो ।

यद्यपि अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीको सङ्ख्या ६१ हजारले बढेको एबीसीको तथ्याङ्कमा उल्लेख छ । यो वृद्धिको भर्पाइ सहभागिता दरमा भएको वृद्धिबाट भएको छ र यसले कामकाजी उमेरको जनसङ्ख्याको अनुपातलाई मापन गर्दछ । कार्यरत वा सक्रियरूपमा कामको खोजीमा रहेका मानिसको सङ्ख्या अक्टोबरमा ६७ प्रतिशतबाट बढेर ६७ दशमलव दुई प्रतिशतको कीर्तिमानी स्तरमा पुगेको छ ।

बेरोजगारी दर गणना गर्नका लागि व्यक्ति कामविहीन हुनुपर्छ वा सक्रियरूपमा नोकरीको खोजी गरेको हुनुपर्छ । एबीएसका अनुसार नोभेम्बरमा एक करोड ४२ लाख ६० हजार अस्ट्रेलियाली रोजगारीमा छन् । यो कामकाजी उमेरको जनसङ्ख्याको ६४ दशमलव छ प्रतिशत हो ।

अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीको सङ्ख्या बढे पनि यो अवधिमा सबै नोकरीमा अस्ट्रेलियालीले काम गरेको घण्टाको कुल सङ्ख्या शून्य दशमलव एक प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८० शुक्रबार ००:००  ५ : ५२ बजे