१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ठेकेदारलाई भुक्तानी दिन नसकेकोमा पीडा बोध छः मन्त्री ज्वाला



मयादेवी अनलाइन, कपिलवस्तु ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समयमा नै ठेकेदारलाई भुक्तानी दिन नसकेकोमा आफूलाई पीडाबोध भएको स्विकार गरेका छन् ।

देशभरका निर्माण व्यवसायीले सम्पन्न गरेको कामको भुक्तानी पाउन नसकिरहेको बेला कपिलवस्तु शनिबार सुरही खोलामा निर्माण भएको पुल उद्घाटन गर्न आएका मन्त्री ज्वालाले यस्तो स्विकार गरेका हुन् ।

‘सबैलाई थाहा छ, देशको अर्थतन्त्रमा संकट छ । ठेकेदारलाई भुक्तानी दिन सकिएको छैन् । तुरुन्त भुक्तानी दिन पाए हुन्थ्यो भन्नेमा छु । यही विषयमा दौडिरहेका छौं, छटपटीमा छौंँ,’ मन्त्री ज्वालाले भने ।

ठेकेदारलाई भुक्तानी दिने प्रयास भइरहेको बताएका मन्त्री ज्वालाले देश निर्माणमा तन, मनले लाग्ने ठेकेदारप्रति आफ्नो सदैव सम्मान रहेको बताए । सुरही खोलामा ३ सय ६० मिटरको पुल सम्झौताको एक बर्ष अगावै काम सकाएको निर्माण कम्पनी टुण्डी कन्ट्रक्सनको उदाहरण दिदैं मन्त्री ज्वालाले विषम परिस्थितिमा पनि समयमा काम गरेर देखाउने व्यवसायी प्रति आफ्नो सधैं सम्मान र साथ रहिरहने बताए ।

मन्त्री ज्वालाले आफूले मन्त्रालय सम्हाले देखिनै आग्रह, पूर्वाग्रह नराखि काम गरेको दाबी गरे । ‘मैले मन्त्रालय सम्हाले देखि कोही कसै प्रति आग्रह, पूर्वाग्रह राखेको छैन् । सरुवा, बढुवामा अनावश्यक हस्तक्षेप गरेको छैन् । कुनै लोभलालच पनि छैन्,’ उनले भने ।

कतिपय सडक निर्माणमा ढिलाई भएको भन्दै उनले असन्तुष्टि जनाए । आफूले मन्त्रालय सम्हाल्ने वित्तिकै बुटवल–नारायणगढ सडकको अनुगमनमा निस्किएको र छिटो काम सम्पन्न गर्न निर्देशन दिएको सुनाए । तरपनि ठेकेदारले समयमा काम नगरेको भन्दै सर्वत्र गुनासो आइरहेको उनले बताए । अबपनि छिटो काम सम्पन्न नगरे कानुनी कारबाहीमा जान मन्त्रालय बाध्य हुने उनले चेतावनी दिए ।

केही नीतिगत अल्झन भए मन्त्रालय फुकाउन तयार रहेको तर समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीमाथि कारबाही हुने उनले बताए । ‘मन्त्रालय तोकिएको समयमा काम सम्पन्न गर्नका विद्युत, वन लगायतका निकायसँग समन्वय गर्न हरदम तयार छ । अरु केही नीतिगत सुधार गर्नुपर्ने भन्नुस्, बजेटको अभाव छ भने त्यसलाई पनि सहजीकरण गर्छौ, मन्त्री ज्वालाले भनेः ‘ तोकिएको समयमा काम सम्पन्न हुनैपर्छ । कुनै बाहनाबाजी गर्न पाइँदैन् ।’

मन्त्री ज्वालाले महेन्द्र राजमार्गको धानखोला सडकखण्डको स्थिति सुधार गर्नुपर्नेमा जोड दिए । आफू त्यस बाटोको अवलोकन गर्नेगरी नेपालगञ्जबाट आएको भन्दै सडकको बेजोग अवस्था देखेर चिन्तित रहेको उनले बताए । सडक विभागका निर्देशक समेत रहेको उक्त कार्यक्रममा मन्त्री ज्वालालाई सडकको स्तरउन्नति गर्न उनले निर्देशन दिए । ठेक्का लागेको स्थानमा छिटो काम सकाउने गरी ठेकेदारलाई निर्देशन गर्न र नलागेको ठाउँमा सडक स्तरउन्नति गर्ने गरी काम अगाडी बढाउन उनले निर्देशन दिएका हुन् ।

मन्त्री ज्वाला कपिलवस्तुस्थित हुलाकी सडकखण्डको अवलोकन गरी सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङमार्ग र बुटवल नारायणगढ सडकखण्डको अवलोकनका लागि कपिलवस्तुबाट रुपन्देही निस्किएका थिए ।

प्रकाशित मिति : ३० मंसिर २०८० शनिबार ००:००  ३ : ४५ बजे