१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सुगन्ध कोकिला बेचेर आम्दानी गर्ने लक्ष्यमा दाङका किसान



दाङ ।
दाङमा यतिबेला सुगन्ध कोकिला टिप्ने याम सुरु भएको छ । बहुउपयोगी गुण भएको वनस्पती सुगन्ध कोकिला आयुर्वेद औषधि, अत्तर र अगरबत्ती बनाउन प्रयोग गरिन्छ ।

तर यसको संरक्षरण र व्यवस्थापन भने राम्रोसँग हुन सकेको छैन । तुलसीपुर उपमहानगरपालिका १९ छिल्लीकोटका डेढ सयभन्दा धेरै किसानले व्यावसायिक सुगन्ध कोकिलाको खेती गरेका छन् ।

सिँचाइको सुविधा नभएको भिरालो जमिनमा अन्य बाली उत्पादन नभएपछि सबैले सल्लाह गरेर सुगन्ध कोकीला अर्थात् मालागेडीको खेती गर्न थालेको छिल्लीकोटका किसान परवीर पुनले जानकारी दिनुभयो ।

चैत, बैशाखमा कोपिला लाग्ने सुगन्ध कोकिलाको फल र काठ बास्नादार हुन्छ । औषधीय गुणले पनि भरिपूर्ण हुने भएकाले औषधि, अत्तर र अगरबत्ती बनाउन यसको प्रयोग हुने गरेको छ ।

उत्पादन बढाउन र खेती विस्तार गर्न सके किसानका लागि आम्दानीको राम्रो स्रोत बन्ने देखिएकाले त्यसैअनुसार रणनीति बनाउने काम भइरहेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

छिल्लीकोटका किसानले अहिले किलोको ५ देखि ७ सय रुपैयाँसम्ममा सुगन्ध कोकिला बेचिरहेका छन् । आफूहरुले थोरै मूल्य पाउँदा व्यापारीले मनग्गे नाफा लिइरहने अवस्था अन्त्य गर्न बजारमा सिधै पहुँच हुनुपर्ने किसानको माग छ ।

धेरै किसानलाई यसबाट आत्मनिर्भर बनाउन सकिने सम्भावना देखिएकाले यसबारे छलफल थालेको तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको भनाइ छ ।

गएको दुई आर्थिक वर्षमा असिना र पानीको मार खेपेर लाखौँ रुपैयाँ घाटा खाएका छिल्लीकोटका किसानले यस वर्ष भने सुगन्ध कोकिला बेचेर दुई करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन् ।

प्रकाशित मिति : ३ पुस २०८० मंगलबार ००:००  ११ : ५१ बजे