८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

बुटवल-गोरुसिंगे सडकखण्डको ठेक्का आह्वान



बुटवल

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिंगे सडक खण्ड निर्माण भएको ६२ वर्षपछि स्तरोन्नति हुने भएको छ । तत्कालीन राजा महेन्द्रको पालामा २०१८ सालमा निर्माण शुरु भएको यो सडक स्तरोन्नति गर्न ठेक्का आह्वान भएको हो ।

बुटवल-गोरुसिङ्गे ५० किलोमिटर सडक खण्डमा रुपन्देहीको बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, कन्चन गाउँपालिका र कपिलवस्तु जिल्लाका वाणगंगा र बुद्धभूमि नगरपालिका पर्छन् । धेरै वन क्षेत्रमा पर्ने यो सडकको स्तरोन्नतिको काम समयमै पूरा हुने विषयमा परियोजना निर्माणदेखि नै प्रश्नचिन्ह उठ्दै आएको छ ।

एसियाली विकास बैंक ९एडीबी०को सहयोगमा बनेको यसको डिजाइन स्वीकृत भएपछि ठेक्का प्रक्रियामा गएको हो । पहिलो खण्डको सडक विस्तारमा लगभग ३० वटा सानाठूला पुल पनि निर्माण हुनेछन् । यस्तै विभिन्न स्थानमा १५५ कल्भर्ट र ६ वटा अन्डरपास र ओभरपास पनि निर्माण हुनेछन् । ठेक्का लगाएको ३ वर्षभित्र निर्माण सक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

बुटवल(गोरुसिङ्गे ५० किलोमिटर र गोरुसिङ्गे(चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम थालिनेछ । जसअनुसार पहिलो चरणमा ५० किलोमिटरको टेण्डर आह्वान भएको छ ।

विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि काम सुरु भएको हो । बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक परियोजनाका प्रमुख इन्जिनियर होमबहादुर एसीले ठेक्काको प्रक्रिया चाँडै सुरु हुने जानकारी दिए ।

उनका अनुसार गोरुसिङ्गे-चन्द्रौटा सडक खण्डका लागि डीपीआरको काम सुरु भएको छ । परियोजना प्रमुख एसीले सडक स्तरोन्नतिका लागि साइट खुला गर्न रुख कटान, विद्युतको पोल सार्न सम्बन्धित कार्यालयहरूसँग छलफल गरिरहेको बताए ।

हाल दुई लेनमा रहेको सडक स्तरोन्नति गरेर ४ लेनको बनाइने छ । गोरुसिङ्गे-चन्द्रौटा सडक खण्डको १९ किलोमिटरका लागि विस्तृत इन्जिनियरिङ सर्भे र स्तरोन्नतिको डिजाइन गर्न र सोही खण्डमा वातावरण मूल्यांकनका लागि स्तर वृद्धि कार्य गर्न तथा सडक र पुलको काम गर्न निर्माण पर्यवेक्षकका लागि विभिन्न ८ वटा परामर्शदाता कम्पनी सर्टलिस्टमा परेका थिए ।

एलईए एसोसियट्स साउथ एसिया आयोजनाको सुपरभिजन र डिजाइनका लागि छनोट भएको थियो । त्यहीअनुसार यो परामर्शदातासँग सम्झौता भएको छ । यो परामर्शदातालाई ८ वर्षको लागि आयोजना हेर्न जिम्मेवारी हुनेछ ।

प्रकाशित मिति : ५ पुस २०८० बिहिबार ००:००  ३ : ०३ बजे