१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते



पाल्पा ।
पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

रा १ ख २४०४ नम्बरको टिपर बिहीबार बेलुका करिब साढे आठ बजे रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरीका प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–१२ का ३२ वर्षीय यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका–५ का हिमाल घर्ती गम्भीर घाइते भएका छन् । घाइतेहरुको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार चालकसहित चार जना सवार रहेको टिपर सडकबाट करिब १५० मिटर तल खसेको छ । टिपरका चालक भने सकुशल रहेको हुँदा प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८० शुक्रबार ००:००  ७ : ४८ बजे