१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाँकेको नौबस्ता बालसुधार गृहबाट झडपपछि १५ बालबन्दी फरार, विवाद साम्य



रुपन्देही ।

बाँकेको नौबस्तास्थित बाल सुधार गृहमा आइतबारदेखि भएको झडपपछिको विवाद शान्त भएपनि त्यहाँ रहेका १५ जना कानुनको विवादमा परेका बालबालिका (बालबन्दी)हरु भने फरार भएका छन् । ११६ जना बालबन्दी रहेको यो बाल सुधार गृहमा भएको झडपपछि भएको तोडफोडले दुई दिनसम्म अशान्ति रहेको थियो । अहिले यहाँ रहेका ११६ जनामध्ये १०१ जना मात्रै भेटिएका हुन् ।

दुई दिनसम्म भित्र रहेका बालबालिकाहरुले विभिन्न माग राखेर आन्दोलन गरिरहेका थिए भने बाहिरबाट प्रहरीले सुरक्षा घेरामा राखेको थियो । सोमबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको समन्वयमा भएको वार्तामा गरी आन्दोलनरत बालबालिकाले उठाएका जायज माग तत्काल पूरा गर्न पहल गर्ने मौखिक सहमति गरी अहिलेको अशान्ति हटाइएको छ ।

सहमतिपछि पोखरेलले भने, ‘अहिले मौखिक सहमतिमा शान्ति भएको छ, ११६ जनामध्ये १०१ जना कारागारमै छन्, १५ जना फरार छन्, हामीले तत्काल पूरा गर्नसक्ने विषयमा सहमति जनाएका छौं र केन्द्रमा पहल गर्नुपर्ने विषयमा पनि समन्वय गर्ने भनेका छौं ।’

प्रजिअ पोखरेलले वार्तापछि सुधार गृहमा सुरक्षा कारबाही गरी त्यहाँ रहेका ४ थान मोबाइल जफथ गरेको जनाए । बालसुधार गृहमा बालबालिकामात्रै राख्नुपर्ने भएपनि यहाँ सबै १८ वर्ष माथिका रहेका कारण बढी विवाद भएको हो ।

पोखरेलले भने, ‘बाल सुधार गृहमा १८ वर्ष माथिका सबैलाई कारागारमा नपठाएसम्म यो विषय समाधान हुँदेन, १८ वर्षभन्दा साना उमेरकालाई होस्टल मोडलमा राख्नुपर्दछ, यही अवस्थामा माथिल्लो उमेरकालाई त्यहाँ राख्दा सधै असुरक्षित हुने विषयमा सबै सर्तक हुनुपर्दछ ।’

आइतबारदेखि आपसी झडपले अशान्त बनेको बालगृहमा तोडफोडमा उत्रिएका बालबन्दीहरुले आइतबारदेखि कसैलाई भित्र जान दिएका थिएनन् । आइतबार दिउँसोदेखि झडप र तोडफोड भएपनि प्रहरीसमेत बाहिरै बसेको थियो । बल प्रयोग गर्दा थप क्षति हुने भएकाले प्रहरीले बाहिरबाटै सुरक्षा दिएर वार्ताको प्रयास गरेको थियो । आक्रोशित बालबन्दीले कसैलाई भित्र जान दिएका थिएनन् भने सरकारी सवारीसमेत तोडफोड गरेका थिए ।

बालबन्दीलाई वार्तामा ल्याएर स्थितिलाई शान्त बनाउन नेपालगञ्जबाट प्रमुख जिल्ला अधिकारीसँगै सुरक्षा निकायका प्रमुखहरु नौबस्ता पुगेर सहमति गरेका हुन् । बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बाल सुधार गृह प्रहरीको नियन्त्रणमा आएको र अहिले स्थिति शान्त भएको जानकारी दिए। बाँकेको बालसुधार केन्द्रमा यसअघि पनि झडपमा एक बालबन्दी मृत्यु भएपछि धेरैले चासोका साथ हेरेका छन् ।

प्रकाशित मिति : १७ पुस २०८० मंगलबार ००:००  ८ : ३७ बजे