४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउछौं : मन्त्री ज्वाला



काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन गर्ने बताएका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार ललितपुरको सानेपामा गरेको कार्यक्रममा उनले संसदको आगामी अधिवेशनमा सार्वजनिक खरिद ऐनको संशोधन विधेयक पेश गर्ने बताएका हुन् । संशोधन गरेर सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउने उनको भनाइ छ ।

‘नयाँ खरिद ऐन आउँछ । अहिलेको समसामयिक सन्दर्भहरुलाई सम्बोधन गर्नेगरी विकासमैत्री ऐनको रुपमा हामीले ल्याउँदैछौं । केही समय पछि हामी त्यो पार्लियामेन्टमा पेश गर्छौं’, उनले भने ।

आफू मन्त्री हुनेवित्तिकै सार्वजनिक सडकसम्बन्धी कानुन र सवारी तथा यातायातसम्बन्धी कानुनलाई नयाँ रुपमा अगाडि बढाउन प्रयास गरेको मन्त्री ज्वालाले बताए ।

‘यातायात व्यवसायीहरुका सवालहरु, लाइसेन्सका विषयहरु, मजदुरको विषयहरु, यी तमाम विषयहरु यसमा समावेश गर्नेगरी त्यो ऐनलाई हामी छिटोभन्दा छिटो अगाडि बढाउने गरी प्रयास गरिरहेका छौं र त्यस सम्बन्धमा हामी फाइनल गर्नुभन्दा पहिले हामी व्यवसायीसँग पनि छलफल गर्छौ, मजदुरसँग सम्बन्धित संगठनहरुसँग पनि छलफल गर्छौ । विज्ञहरुसँग छलफल गर्छौं’ उनले भने ।

यातायात क्षेत्रमा देखिएका धेरै समस्या कानुनी रुपमा नै समाधान गर्नुपर्ने भएकाले यस कामलाई प्राथमिकतामा राखिएको मन्त्री ज्वालाको भनाइ छ ।

प्रकाशित मिति : २१ पुस २०८० शनिबार ००:००  ३ : ५० बजे