४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

सिट बाँडफाँटको अन्तिम तयारीमा गठबन्धन दलहरू



काठमाडौँ ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरू सिट बाँडफाँटको अन्तिम तयारीमा छन्। शनिबार नै दोस्रो चरणको छलफल गरेर सिट बाँडफाँटको टुंगो लगाइने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।

सरकारमा सहभागी दलहरूबीच शनिबार साँझ पुनः बैठक बस्ने र राष्ट्रियसभा सदस्यको बारेमा टुंगो लगाउने निर्णय भएको लेखकले बताए।

‘देशभरको मतको स्थितिलाई मध्यनजर गरेर र कसको राष्ट्रिय सभामा कति स्थान छ, मतभार कति कसको छ भन्नेकुरालाई मध्यनजर गरी हामी टुंगोमा पुग्छौँ,’ उनले भने।

साथै, उनले गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुने पनि बताए। ‘सरकारमा सहभागी सहयोगी दलहरुबीचको छलफल र निर्णयले टुंगोमा पुग्छ,’ उनले भने।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बैठकमा एमालेलाई पनि समेटेर राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने प्रस्ताव राखेका थिए। सो प्रस्तावमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले असन्तुष्टि जनाएका थिए।

त्यसपछि शुक्रबार दिउँसो एमाले पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पनि रिक्त १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो।

‘सत्ता गठबन्धनले सदासयतापूर्वक एउटा वृहत लोकतान्त्रिक धारणाका साथ सकिन्छ भने सत्ता र प्रमुख प्रतिपक्ष, प्रतिपक्षका बीचमा मिलेरै जान सकिन्छ की भन्ने हो। तर सम्भव भएन,’ शनिबारको गठबन्धन बैठकपछि लेखकले भनेका छन्।

प्रकाशित मिति : २१ पुस २०८० शनिबार ००:००  ३ : ५४ बजे