१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भालुवाङ बस दुर्घटनाका मृतक १२ जनाकै सनाखत



दाङ ।

दाङको राप्ती पुल भालुवाङ मुनी बसबस दुर्घटनामा परी मृत्यु भएका १२ जनाको सनाखत भएको छ। दुर्घटनामा एक महिला र ११ पुरूष गरी १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये चितवन भरतपुर उपमहानगरपालिका – २५ का ३५ वर्षीय अनिल खड्का, बाँकेको खजुरा गाउँपालिका– ३ सिर्जनशील टोलका २५ वर्षीय सन्जय केसी, बाँकेकै कोहलपुर नगरपालिका–८ का २८ वर्षीय अर्पन थापा र भारतको बहराइज नानपारा बग्लुभौतपुरका ४५ वर्षीय चेतराम सिल्पकारको शनिबार दिउँसो सनाखत भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

त्यसअघि आठ जनाको सनाखत भइसकेको थियो। जसमा बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बनेत, मकवानपुर हेटौंडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रागिरी नगरपालिका– १५ का  ६५ वर्षीय ताराकान्त पाण्डे,  भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ वर्षीय मुने, जुम्लाको श्रीढुम्का–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेकै  ३० वर्षीय रामवरण हरिजन, रूकुमको साविक गोतामकोट गाविस–९ का  २५ वर्षीय दिपक कामी, भारतको विहार पूर्वी चम्पारण मलाइका ६७ वर्षीय योगेन्द्र राम जोगेन्द्र रामको बस दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।  

मृतकहरूको पोष्टमर्टम दाङको लमही अस्पतालमा भइरहेको छ। दिउँसो साढे ३ बजेसम्म पाँच जनाको पोष्टमर्टम सकेर आफन्तले शव बुझेर लगेको प्रवक्ता मल्लले जानकारी दिए। 

बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको  भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति सवा १० बजेतिर राप्ती गाउँपालिकास्थित राप्ती नदी पुलबाट खसेको थियो। 

दुर्घटनापछि गम्भीर घाइते १२ जनालाई उद्धार गरी अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनाका घाइते २४ जनामध्ये १३ जनाको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा, बुटवलस्थित चौराहा हस्पिटलमा ८ जना, सिटी अस्पताल बुटवलमा १ जना र दाङको राप्ती पोलिक्लिनिक भालुवाङ र प्रस्तावित अस्पताल भालुबाङमा १  जना घाइतेकोे उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता मल्लले जानकारी दिए।  

बसमा कुल ६ महिला र १८ पुरूष गरी ३७ यात्रु सवार थिए। घाइतेमध्ये अझै पनि ४ जनाको अवस्था गम्भीर रहेको , ११ जनाको अवस्था मध्यम र ९ जना सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ। चालक सल्यानको त्रिवेणी गाउँपालिका–४ का २८ वर्षीय लालबहादुर नेपाली प्रहरी नियन्त्रणमा छन्। 

बसको सापटले एकाएक काम नगर्दा चक्का नघुमेका कारण  बस पुलबाट खसेको बयान उनले प्रहरी समक्ष गरेका छन्।

तर, प्रहरीले भने तीव्र गतिको बस चालकले नियन्त्रण गर्न नसक्दा पुलबाट खसेको बताएको छ। नजिकैको प्रहरी बिटमा उनले गाडी नरोकी बस हुँइक्याएर लगेको ड्युटीका ट्राफिक प्रहरीले बताएका छन्।  घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २८ पुस २०८० शनिबार ००:००  १० : ४३ बजे