११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गुल्मीमा सुन्तलाको उत्पादन घट्यो



गुल्मी ।
गुल्मीमा सुन्तलाको क्षेत्रफल बढे पनि उत्पादन पोहोरभन्दा घटेको छ ।

गएको वर्ष ६ हजार ८ सय ३८ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यसवर्ष ६ हजार ५ सय ७२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । गएको वर्षको भन्दा २ सय ६६ मेट्रिक टन सुन्तला कम उत्पादन भएको हो । गएको वर्ष ५ सय ८८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो । तर यसपालि सुन्तलाको क्षेत्रफल बढेर ६ सय २३ हेक्टर पुगेको छ ।

क्षेत्रफल बढे पनि उत्पादन घट्नुमा फल पातलो लाग्नु, दाना साना हुनु र उत्पादकत्त्व कम हुनु मुख्य कारण रहेको र अरु विषय थप अध्ययनपछि मात्रै जानकारी हुने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो । अघिल्लो वर्ष २९ करोड रुपैयाँको सुन्तला उत्पादन भएकोमा यस वर्ष झण्डै २४ करोड रुपैयाँको मात्र सुन्तला उत्पादन भएको छ । उत्पादन भएकोमध्ये यो वर्ष १२ करोड ८४ लाख रुपैयाँको सुन्तला जिल्ला बाहिर निर्यात गरिएको छ । अघिल्लो वर्ष जिल्लाबाहिर १३ करोड २१ लाखको सुन्तला निर्यात भएको थियो ।

गुल्मीमा सुन्तला खेती गर्ने परम्परागत प्रविधि, रोगकिराका कारण उत्पादन कम भएको हुनसक्ने धुर्कोट गाउँपालिकाका–२ सुफलका किसान शिवलाल खनालले बताउनुभयो । उहाँले सुन्तला बगैँचामा मल र सूक्ष्म तत्वको अभावले पात पहेँलो हुने, छिर्केमिर्के देखिने, हाँगा सुक्ने, बोट टुप्पाबाट सुक्दै जाने, फल झर्ने र सानो हुने, रसिलो फल नलाग्ने, बोक्रा बाक्लो हुने जस्ता समस्या देखिएको बताउनुभयो । गुल्मीमा रहेका १२ वटै पालिकामा सुन्तला खेती हुँदै आएको छ ।

१२ पालिकाका ३७ वटा वडामा सुन्तलाजात फलफूल जोनु लागू गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् मदाने गाउँपालिकाको पुर्कोटदह र धुर्कोट गाउँपालिकाको पिपलधारामा सुन्तला खेतीका लागि चक्लाबन्दी शुरु गरिएको छ ।

धुर्कोट गाउँपालिकाको नयाँगाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाउँ, अर्खले, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मी दरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, चन्द्रकोटको रेमी, मदानेको भनभने मुख्य पकेट क्षेत्र मानिन्छन् ।

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुन्तलाको उत्पादकत्त्व वृद्धिका लागि बगैँचा व्यवस्थापनमा सुधारका साथै मलखाद, सिँचाइ र काँटछाँट गर्ने जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीकी प्रमुख गंगाकुमारी पोख्रेलले बताउनुभयो ।

प्रकाशित मिति : २९ पुस २०८० आइतबार ००:००  १० : ४६ बजे