११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

आजदेखि कपिलवस्तुको हथौँसामा माघी मेला



मायादेवी अनलाइन, बाणगंगा ।
मंगलबार (आज)देखि कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ११ हथौंसामा माघी मेला लाग्दै छ ।

५ औं बाणगङ्गा नगर स्तरीय माघी (खिचडी) मेला हथौंसामा हुने भएको छ ।

‘हम्मन रास्ट्रिय एकता अउर भेषभुषा हम्मनके शान, भाषा कला संस्कृति संरक्षण सम्बद्र्धन कइना हम्मनके अभियान’ भन्ने मुल नारासहित आजदेखि सुरु हुने मेला माघ ४ गतेसम्म चल्ने छ ।

बाणगंगा थारु बाहुल्यता रहेको नगर भएकाले पर्यटन प्रर्वद्धनमा थारु समुदायको मेलाले महत्वपूर्ण भूमिका खेल्ने थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य सुमित्रा चौधरीले बताइन् ।

मेलाका संयोजक तथा थारु कल्याणकारिणी सभा नगर अध्यक्ष नाथुराम थारुले थारु जातिका कला, संस्कृति, भाषा भेषभुषा र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताए ।

मेलाको उद्घाटन प्रदेश भौतिक पूर्वाधार मन्त्री धर्म बहादुर चौधरीले गर्ने जनाइएको छ ।

मेलामा थारु राष्ट्रिय गायक गायिकाको साथमा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।

विषेशगरी थारु कला, संस्कृति झल्किने गरी आयोजना हुन लागेको मेलामा रक्तदान, डेलवा दौड प्रतियोगिता लगायतका अन्य विविध कार्यक्रम राखिएको छ ।

एसइई तथा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान, विभिन्न नृत्य तथा डान्स प्रतियोगिता संचालन हुने बताइएको छ भने थारु परिकार संगै अर्गानिक खानाको विशेष स्टल समेत रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८० मंगलबार ००:००  ८ : ३६ बजे