१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपात



काठमाडौं ।
पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी परेको छ । पश्चिमी वायुको प्रभावले हिजो केही ठाउँमा हल्का पानी परेको र आज पनि पहाडी भेगका केही ठाउँमा पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिउँदमा ढिलै भए पनि फाट्टफुट्ट पानी परेपछि अब पानी पर्ने सम्भावना बढेको भन्दै किसान हर्षित भएका छन् । उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातसमेत भएको छ । महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाको भक्तपुर आसपास, दोलखा, सिन्धुपाल्चोक र ताप्लेजुङलगायत क्षेत्रमा छिटफुट पानी परेको छ ।

आज पनि केही ठाँउमा छिटफुट मात्र पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार दोलखाको कालिञ्चोक, सोलुुको लुक्ला, ताप्लेजुङ लगायतका उच्च पहाडी भेगमा हिमपात भएको छ ।

कालिञ्चोक क्षेत्रमा यो वर्ष पहिलोपटक हिमपात भएको हो । कालिञ्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरीलगायत ठाउँमा हिमपात भएको छ । भोलिसम्म मौसम बदली हुने र केही ठाउँमा हल्का वर्षासँगै हिमपात हुने मौसमविदले बताएका छन् ।

मौसमविदका अनुसार देशैभरको मौसम आंशिक बदली हुने र तराईमा हुस्सु र कुहिरो लाग्नाले चिसो अझै बढ्नेछ । यसपालिको हिउँद सकिन लाग्दा समेत हिमपात र हिउँदे वर्षा राम्रोसँग हुन सकेको छैन। गएका वर्षमा मङ्सिरमै हिमपात हुने गरेकोमा यसपालि माघको पहिलो हप्ता लागिसक्दा बल्ल केही ठाउँमा फाट्टफुट्ट वर्षा र हिमपात भएको हो ।

समयमै हिउँदे वर्षा र हिमपात नहुँदा हिमाली तथा उच्च पहाडी क्षेत्रमा अन्नबालीमा असर पर्न थालेको छ भने हिमालहरू कलापत्थरमा परिणत हुँदै गएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८० बुधबार ००:००  ८ : २५ बजे