११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

नारायणगढ–बुटवल सडकखण्डको म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम



काठमाडौं ।
नारायणगढ–बुटवल सडक विस्तार योजना अन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन झण्डै ६ महिना बाँकी रहँदा आयोजनाको काम अझै आधा बाँकी छ।

विसं २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो । त्यसयता दुई पटक म्याद थप गरिएको छ । दोस्रो पटक थपिएको म्याद आउँदो साउनमा सकिने छ । यस योजनामा निर्माणपछि समेत पाँच वर्ष मर्मतको जिम्मा निर्माण कम्पनीको रहने हुँदा यो काम झण्डै १० प्रतिशत मान्दा साउनसम्म प्रगति ९० प्रतिशत हुनुपर्ने उहाँले बताउनुभयो ।

निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनलाई अहिले प्रयोग गरेको जनशक्ति र मेसिन अपर्याप्त रहेको जनाउँदै पर्याप्त साधन स्रोतको प्रयोग गरी तोकिएको समयमै काम सम्पन्न गर्न निर्देशन गरिरहेको उहाँले बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको एक सय १३ किलोमिटर सडक मध्यपूर्वी खण्डमा झण्डै ६५ किलोमिटर पर्दछ । पूर्वी खण्डमा २१ किलोमिटरमात्र दुई लेन सडक निर्माण सम्पन्न भएको छ ।पुलको भाग छाडेर दुई लेनको हिसाब गर्दा झण्डै एक सय २५ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ । १७ अर्ब लागत लाग्ने यो योजना लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यस खण्डमा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् । धुलोले स्थानीय र व्यवसायीलाई हैरान बनाएको छ ।

प्रकाशित मिति : १० माघ २०८० बुधबार ००:००  १ : ४७ बजे