८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

मिडियाको जवाफदेही र दिशानिर्देश जरुरी : गृहमन्त्री पाण्डेय



बुटवल ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले संचारमाध्यम नागरिकहरूप्रति जवाफदेही बन्नुपर्ने बताएका छन् । मन्त्री पाण्डेयले मिडियाले सही दिशानिर्देश गर्नुपर्ने आवश्यकता भएको औल्याए । संचारिका समूह नेपालले शुक्रबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय सम्पादक तथा व्यवस्थापकहरुका लागि संचारमाध्ययममा लैंगिक समानता तथा सामाजिक समावेशीकरण र सुरक्षा विषयक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् ।
मन्त्री पाण्डेयले सरकारलाई दिशानिर्देश गर्ने र नागरिकका आवश्यकता सरकारसम्म पुर्याउने काममा संचारमाध्ययम संवेदनशील भएर लाग्नुपर्ने बताए । उनले संचारमाध्यम खुल्ने क्रम बढेको बताउदै त्यसको गुणस्तर बिस्तारमा समेत ध्यान दिन आग्रह गरे । संचार माध्ययममा ठूला दल, ठूला व्यक्ति, पद र प्रतिष्ठामा भएकाको मात्रै समाचार लेख्नु साटो समस्यालाई समाधान गर्ने खालका कुरालाई पनि ध्यान दिन सुझाब दिए । मन्त्री पाण्डेले संचारमाध्यममा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको सवाललाई मूलप्रवाहीकरण गर्न आग्रह गर्दै पत्रकार महिलाहरुको उत्पादन र क्षमता बढाउन पनि पहल गर्न आग्रह गरे । संचारको जिम्मेवारी समेत रहेको यस मन्त्रालयले महिला पत्रकारहरुको लागि बजेटको व्यवस्था समेत गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका बुटवल कार्यालय प्रमुख सोमनाथ सुवेदीले पत्रकारकारको व्यवसायिक सुरक्षाका लागि राज्यले सघाउनुपर्ने बताए । उनले पत्रकारहरुलाई समाचार सामाग्री र प्रस्तुतीलाई लैंगिक र समाजिक समावेशीमैत्री बनाउन पनि आग्रह गरे ।
फ्रि मिडिया नेटवर्क एवं पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले आफूबाटै लैंगिकताप्रतिको दृष्टिकोणलाई स्पष्ट पार्नुपर्ने बताए । उनले पत्रकार महिला तथा सिमान्तकृतहरु जातिय र लैंगिक रुपले आरक्षण मात्रै खोज्नुभन्दा क्षमता विकास गरेर आउन सुझाब दिए ।

संचारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले संचारमाध्यमलाई लैंगिकमैत्री बनाउदै व्यवसायीक सुरक्षा र सवलीकरणका लागि सम्पादक र व्यवस्थापक सहितको कार्यक्रम आयोजना गरेको बताइन् । अलर्ट इन्टरनेशनलका राष्ट्रिय निर्देशक रविना श्रेष्ठले नागरिकलाई सुसुचित गर्ने र राज्यलाई दिशा निर्देश गर्ने पत्रकारहरुमा लैंगिकता र समावेशीकरणको बुझाइ स्पष्ट हुनुपर्ने बताइन् ।
संचारिका समूह नेपालका केन्द्रीय सल्लाहकार तथा सहजकर्ता बबिता बस्नेतले संचार माध्ययमहरुको समाचार कक्ष, व्यवस्थापन र उत्पादित सामाग्रीलाई लैंगिकमैत्री र समावेशी बनाउन जरुरी भएको बताइन् । पत्रकारहरु व्यवसायिक र पेशागत सुरक्षित हुनका लागि कार्यक्रमले सहयोग गर्ने बताइन् । प्रशिक्षणमा लुम्बिनी प्रदेशका ८ जिल्लाका २५ जना सम्पादक तथा व्यवस्थापक सहभागी छन् ।

प्रकाशित मिति : १२ माघ २०८० शुक्रबार ००:००  १० : ३० बजे