१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भैरहवा एकीकृत जाँच चौकी निर्माण धमाधम



रुपन्देही ।
भैरहवामा निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी)को काम तीव्ररुपमा भइरहेको छ। जग्गा हस्तान्तरण भइ काम सुरु भएको एक वर्षभित्र आयोजनाको ३० प्रतिशत भौतिक प्रगति एवं २५ प्रतिशत आर्थिक प्रगति भएको जनाइएको छ।

करिब १५ वर्षअघि नै नेपालतर्फ जग्गा अधिग्रहण गरिए पनि लामो समय आईसीपी निर्माणको काम अगाडि बढ्न सकेको थिएन। भारततर्फ जग्गाको कुरा नमिलेपछि आईसीपी निर्माणमा ढिलाइ भइरहेको थियो। भैरहवा भन्सार कार्यालयभन्दा करिब डेढ किलोमिटर पश्चिमतर्फ भारतीय भूमि भारतले अधिग्रहण गरेपछि अहिले दुवैतर्फ आईसीपीको निर्माणले तीव्रता पाएको हो।

पूर्व अर्थमन्त्री विष्णु पौडेलले दुई देशको व्यावसायिक कारोबारका लागि महत्वपूर्ण मानिएको आईसीपीको निर्माण कार्य सन्तोषजनक रुपमा रहेको बताए। आज आईसीपीको अनुगमन गर्दै उनले यो निर्माण काम अलि छिट्टै सुरु हुने भए पनि भारततर्फ जग्गा अधिग्रहण हुन नसक्दा ढिलो भएको बताए। ‘नेपालतर्फ र भारततर्फ जोडिएकै भए अझै बढी व्यावहारिक हुन्थ्यो’, उनले भने, ‘जग्गाकै विवादका कारण करिब एक किलोमिटर टाढा भए पनि अहिले कुरा मिल्नु राम्रो हो।’

उनले आईसीपी निर्माणपछि धेरै प्रकारको व्यापार प्रणालीलाई सहज बनाउने बताए। उनले आयोजना छिटो र गुणस्तरीय रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आयोजनाको काम सन्तोषजनक रुपमा अगाडि बढेको बताए। उनले आयोजनाको भौतिक प्रगति ३० प्रतिशत रहेको बताए।

यद्यपि आयोजनालाई निर्माण सामग्रीको केही समस्या आएको गुनासो आएकाले स्थानीय पालिकासँगको सहकार्यमा त्यसलाई समाधान गरिएको अर्यालले जानकारी गराए। ‘आयोजना सुरु हुँदा भएको सम्झौतामा रोयल्टी छुट दिने कुरा भएको रहेछ, त्यो विषयमा स्थानीय पालिकाहरुको आफ्नै जटिलता रहेका छन्’, अर्यालले भने, ‘स्थानीय पालिकाले लिएको रोयल्टीलाई निर्माण व्यवसायीले नेपाल सरकारबाट सोधभर्ना लिन पाउने गरी व्यवास्था मिलाइरहेका छौँ।’

आयात-निर्यातलाई एकद्वार प्रणालीमा ल्याएर सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य आईसीपीको हो। वीरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्जजस्ता चल्तीका नाकामा एकीकृत भन्सार जाँच चौकी निर्माण हुनेछन्। यीमध्ये वीरगञ्ज र विराटनगरमा आईसीपी निर्माण भई सञ्चालनमा आइसकेका छन् भने नेपालगञ्ज र भैरहवामा निर्माणाधीन अवस्थामा छन्।

आईसीपीमा अत्याधुनिक स्क्यानर जडान हुने भएकाले भन्सारमा हुने भएको राजस्व छली र एउटै प्रज्ञापनद्वारा धेरै सामान आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सकिन्छ। सबै आईसीपी भारतले नै बनाएर नेपाललाई हस्तान्तरण गर्ने जनाइएको छ।

भैरहवामा निर्माण गर्न भारतले भारतीय निर्माण कम्पनी केएसएम वसिर मोहम्मद एन्ड सन्स, लखनउले एक अर्ब ६१ करोड ७६ लाख रूपैयाँ भारतीयमा निर्माणको काम पाएको हो।

सम्झौता भएको दुई वर्षभित्र निर्माणको काम सम्पन्न गरी नेपाली पक्षलाई बुझाउने गरी सम्झौता भएको छ। ३५ दशमलव ११ हेक्टरमा फैलिएको आईसीपीमा आयाततर्फ छ सय ९२ र निर्याततर्फ दुई सय ७० गरी एक हजार ट्रक पार्किङ गर्न मिल्ने स्थान हुनेछ। -रासस

प्रकाशित मिति : १८ माघ २०८० बिहिबार ००:००  ८ : ४२ बजे