८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

दाङमा प्रहरी जवानले पत्नी र छोराको हत्या गरेको आरोप



काठमाडौँ ।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान ३२ वर्षीय पिमलाल नेपाली आफ्नै पत्नी र छोराको हत्या आरोपमा पक्राउ परेका छन्।

होटलमा पत्नी र छोराको हत्या गरेपछि नेपाली आफैँ प्रहरी कार्यालयमा आत्म समर्पण गर्न आएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्तको हत्या गरेका जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

‘उनले गएराति घोराहीमा रहेको सुपर ग्रिन पिस होटलमा पत्नी र छोराको हत्या गरेको स्वीकार गरेका छन्,’ डीएसपी मल्लले भने, ‘हत्यापछि उनी आफैँ प्रहरी कार्यालयमा आत्म समर्पणको लागि आएका हुन्।’

डीएसपी मल्लका अनुसार शनिबार राति कार्यालयबाट बिदा मागेर उनी घर जान्छु भनि गएका थिए।

पत्नी छोरा आफूलाई भेट्न आएपछि उनी घर जान्छु भनी बिदा मागेर गएको खुलेको छ।

गएराति सँगै बसेका उनीहरुबीच विहान आपसी विवाद हुँदा घटना भएको प्रहरीले जनाएको छ।

‘वयानको क्रममा उनले घर जाउँ भन्दा पत्नीले नमानेपछि सलले घाँटी कसेर पत्नी र छोराको हत्या गरेको भनेका छन्,’ डीएसपी मल्लले भने, ‘हामी घटनाको थप अनुसन्धान गरिरहेका छौँ।’

प्रहरी जवान नेपालीको घर रोल्पाका रुन्टीगढी गाउँपालिका–९ रोल्पा हो।

उनले तीन वर्षअघि मात्रै रुकुम चौरजहारीकी टीका विकसँग प्रेम विवाह गरेका थिए। लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत नेपाली गएको मंसिर १६ गते मात्रै जिल्ला प्रहरी कार्यालय दाङ सरुवा भएका थिए।

उनकी पत्नी र छोरा भने नेपालगन्जमै डेरामा बस्दै आएका थिए। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २१ माघ २०८० आइतबार ००:००  २ : ०५ बजे