१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनी प्रदेश राजधानी जोड्ने गच्छे–भालुबाङ सडकको काम धमाधम



दाङ (देउखुरी) ।
अर्घाखाँचीको सन्धिखर्कबाट लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका जोड्ने गच्छे–भालुबाङ सडक पुरा हुन अझै ५ वर्ष लाग्ने अनुमान गरिएको छ । २०५६ सालदेखि सुस्त गतिमा काम भएको गच्छे–भालुबाङ सडक लुम्बिनी प्रदेशको राजधानी दाङ भएपछि थप चासो दिइएको छ ।

प्रदेश सरकारको १६ करोड रुपैयाँ बजेटमा गच्छे–भालुबाङ सडक खण्डको टोड्के देखि लामातालसम्मको २९ किलोमिटर सडकलाई ग्राभेल र स्ट्रक्चरको काम भएको छ । गच्छे–टोड्केसम्म ग्राभेल भएको छ ।

‘बजेट अनुसार काम धमाधम भएको छ, ’ सडक पूर्वाधार विकास कार्यालयका प्रमुख गोपी पुन मगरले भने, ‘१६ लाखको ग्राभेल र स्ट्रक्चरको काम २०८० वैशाख ३० गतेसम्म निर्माण व्यवसायीसँग सम्झौता भएकाले काम पुरा हुन्छ । सडक ७ मिटर चौडा छ ।’ गच्छे–टोड्के खण्डको निर्माणका लागि ३ करोडमा काम भएको छ । अहिले लामाताल सम्म काम भएको छ ।

शितगंगा नगरपालिकाको लामातालबाट राप्ती किनार हुँदै बढीदमार–प्युठानको चैते–रामपुर हुँदै मुख्य रोडबाट दाङको भालुबाङ जोडिन्छ । यो सडक पुरा भएर यातायात सञ्चालन भएपछि प्रदेश राजधानी दाङसँग अर्घाखाँचीको दुरी छोटो हुनेछ । यही बजेट अनुसार काम भएमा गच्छे–भालुबाङ सडक निर्माण पुरा हुन अझै पाँच वर्ष लाग्न सक्ने उनले बताए ।

लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा थप बजेट माग गरेको पुनमगरले बताए । अहिले गच्छे देखि लामातालसम्मको ४७ किलोमिटर दुरीको दुई ठाउँमा निर्माणको काम भइरहेको छ ।

यो सडकलाई पहिले अर्घाखाँचीलाई दाङको भालुबाङ जोड्ने भनेर थोरै बजेटमा २४ वर्षदेखि काम भइरहेको थियो । भालुबाङ देखि ५ किलोमिटर देउखुरीमा स्थायी राजधानी तोकेर लुम्बिनी प्रदेश राजधानीका प्रशासनिक कार्यालय सरेपछि यसलाई प्रदेश राजधानीसँग जोड्ने महत्वपूर्ण सडककोरुपमा महत्व दिइएको छ ।

‘गच्छे–भालुबाङ सडक अर्घाखाँचीलाई दुरगामी महत्व राख्ने बाटो हो,’ यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले भने, ‘सडक सम्पन्न भएपछि अर्घाखाँचीसहित पाल्पा र गुल्मीका नागरिकलाई प्रदेश राजधानी आउजाउ गर्न यही बाटो सहज हुन्छ । स्थानीयको आर्थिक समृद्धिलाई टेवा दिन्छ, चहलपहल भएपछि चिया खाजा पसल, रिसोर्टदेखि तरकारी उत्पादन गर्ने कृषक समेत लाभान्वित हुन्छन् ।’

अर्घाखाँचीबाट भालुबाङ आउजाउ गर्न सन्धिखर्क–गोरुसिंगे सडक हुँदै पूर्वपश्चिम राजमार्गको बाटो हिँड्नुपर्छ । सन्धिखर्क–गोरुसिंगे–भालुबाङ १ सय २४ किमी दुरी छ । सन्धिखर्कबाट दुई किमीको गच्छे–भालुबाङ ६४ किमीको दुरी रहेको छ ।

यो पर्यटकीय सडक पनि हो । शितगंगा नगरपालिका– ८ र ९ नम्बर वडा, दाङको राप्ती गाउँपालिकाको ९ वटै वडा र गढवा गाउँपालिकाको वडा १, २ र ३ लाई समेटेर राजधानी राप्ती उपत्यका बनेपछि यसको महत्व बढेको छ । शितगंगा नगरपालिका–७ मा २ सय ८१ मेगावाट विद्युत उत्पादन हुने निर्माणाधीन नौमुरे बहुउद्देश्यीय आयोजना रहेको छ ।

धार्मिक, पर्यटकीय र व्यापारिक हिसाबले जंगल भित्रको दुर्गम बस्तीको मुहार फेर्ने गच्छे–भालुबाङ सडकलाई बजेटमा प्राथमिकतामा पारेरै छिटो पुरा गर्न आफु लागि परेको सांसद घिमिरेले बताए । धनचौरको साप्रे भीरमा जटिल पत्थर सहितको पहरोको बीचबाट सडक छेंडेर फराकिलो पार्ने काम २३ वर्षसम्म पनि पुरा भएको छैन ।

जिल्लाको दुर्गम क्षेत्रमा पर्ने जलुके, जुकेना गाउँका स्थानीयलाई गच्छे–भालुबाङ सडक पुरा भएपछि गाउँमा उत्पादन भएको तरकारी, खसीबोका, खाद्यवस्तु लगायतका उपज भालुबाङ बजारमा निर्यात गर्न सहज हुनेमा आशावादी छन् । यहाँका स्थानीयलाई अर्घाखाँची सदरमुकाम सन्धिखर्क भन्दा भालुबाङ नजिक पर्छ । -कान्तिपुरबाट

प्रकाशित मिति : २५ माघ २०८० बिहिबार ००:००  ९ : ०१ बजे