२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

६ महिनामा साढे १२ अर्बको बिजुली भारत निर्यात



काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा १२ अर्ब ४० करोड रुपैयाँको बिजुली निर्यात गरेको छ।

प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा गत वर्षको सोही अवधिभन्दा ४७.९७ प्रतिशत बढी रुपैयाँको बिजुली निकासी गरको हो ।

राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकअनुसार गत वर्ष साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा प्राधिकरणले ८ अर्ब ३८ करोड रुपैयाँको बिजुली निर्यात गरेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा प्राधिकरणबाट गत आर्थिक वर्षभरीमा निर्यात भएको बिजुलीभन्दा १९ प्रतिशत बढी बिजुली निकासी भएको छ । गत आर्थिक वर्षभरीमा १० अर्ब ४२ करोड रुपैयाँ बराबरको मात्रै बिजुली निकासी भएको थियो ।

नेपालमा नदी प्रवाहमा आधारित (रन अफ रिभर) जलविद्युत परियोजना धेरै भएकाले बर्खायाममा बिजुली निकासीमा वृद्धि हुन्छ ।

भारतमा बिजुली खरिद बिक्री हुने इन्डियन इनर्जी एक्सचेञ्ज (आइएक्स) को डे अहेड बजारमा प्रतिस्पर्धामार्फत प्राधिकरणले नेपालका विभिन्न १४ परियोजनाबाट उत्पादित बिजुली बिक्री गर्ने गर्छ ।

निजी क्षेत्रले निर्माण गरेका परियोजनाबाट उत्पादित बिजुली आइएक्सको प्रणालीबाट बिक्री गर्न भारत सरकारले अनुमति दिएपछि नेपालबाट निर्यात हुने बिजुली बढेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

चालु आर्थिक वर्षको ६ महिनामा भारततर्फ निकासी हुने बिजुलीमा उल्लेख्य वृद्धि हुँदा भारतबाट आयात हुने बिजुली १३ प्रतिशतले घटेको छ ।

नेपालको आन्तरिक उत्पादनले पिक आवर (विहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ९ बजेसम्म) को माग धान्न नसक्ने भएकाले प्राधिकरणले भारतबाट बिजुली आयात गर्ने गरेको छ ।

नेपालमा जलाशययुक्त परियोजना निकै कम भएकाले बिजुली माग धेरै हुने समयमा बिजुलीको उत्पादन बढाउन सकिँदैन । बिजुलीको माग कम हुने रातिको समयमा पनि नेपालका परियोजनाबाट बिजुली उत्पादन हुने गर्छ । प्राधिकरणले पिक आवरमा भारतबाट बिजुली आयात गर्ने र नेपालमा माग कम हुने समयमा भारततर्फ बिजुली निर्यात गर्ने गर्छ ।

पछिल्लो समय प्राधिकरणले पिक आवरमा बजारको मागअनुसार बिजुली आयात नगरी उद्योगलाई ८ घण्टा लोडसेडिङमा राखेकाले चालु आर्थिक वर्षमा भारतबाट आयात हुने बिजुली घटेको प्राधिकरणकै कर्मचारीहरु बताउँछन् ।

‘प्राधिकरणले ठूला उद्योगमा करिब ३ साता बिजुली कटौती गरेकाले पनि यो वर्ष बिजुलीको आयात घटेको हो,’प्राधिकरणका एक अधिकारीले भने,’पछिल्लो समय ठूला उद्योगमा काटिएको बिजुली जडान भएपछि पनि उद्योगलाई करिब ८ घण्टा लोडसेडिङमा राखिएको छ । जसले गर्दा चालु आर्थिक वर्षमा बिजुली आयात घटेको हो ।’

चालु आर्थिक वर्षको ६ महिनामा प्राधिकरणले २ अर्ब ७३ करोड रुपैयाँ बराबरको बिजुली आयात गरेको छ । गत वर्ष सोही अवधिमा ३ अर्ब १४ करोड रुपैयाँ बराबरको बिजुली आयात भएको थियो ।

नेपालमा खुख्यायाम सुरुभएपछि माघदेखि असारसम्म भारतबाट धेरै बिजुली आयात हुने भएकाले गत आर्थिक वर्षभरीमा १९ अर्ब ९ करोड रुपैयाँ बराबर बिजुली आयात भएको थियो । जुन अघिल्लो वर्ष भन्दा ३२.२९ प्रतिशत बढी हो ।

अघिल्लो वर्ष साउनदेखि पुस सम्म २ अर्ब २० करोड रुपैयाँको र वर्षभरीमा १४ अर्ब ४३ करोड रुपैयाँ बराबर बिजुली आयात भएको थियो ।

चालु आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणमा प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगमा बिजुली कटौति गर्ने योजना बनाएकाले आगामी दिनमा पनि बिजुली आयात घट्ने प्राधिकरणका कर्मचारीहरु बताउँछन् ।

‘जलाशययुक्त जलविद्युत परियोजना निर्माण नहुँदासम्म भारतबाट पिक आवरमा बिजुली आयात गर्नु पर्ने बाध्यता अन्त्य हुने अवस्था छैन,’प्राधिकरणकका एक अधिकारीले भने,’अफ आवरमा नेपालको आन्तरिक उत्पादन बढी भएर भारत निर्यात गर्नु पर्ने अवस्थामा पुगेको छ । यदी बिजुलीमा आत्मनिर्भर हुने हो भने जलाशययुक्त आयोजनामा जोड दिनु पर्छ ।’

प्रकाशित मिति : २५ माघ २०८० बिहिबार ००:००  ३ : ३८ बजे