१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पत्रकार महासंघको इतिहास श्रेष्ठ नै हुन् तथ्य मेट्न पाइदैन : सांसद थापा



दाङ। नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले सत्य, तथ्य विचार जनतामाझ लग्न जरुरी रहेको, त्यो काम प्रेस जगतको प्रमुख जिम्मेवारीभित्र पर्ने बताएका छन् ।

शनिवार प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको राप्ती उपत्यका देउखुरीमा आयोजित प्रथम साधारण सभालाई सम्बोधन गर्दै उनले श्रमजीवीका मुद्दा, संगठित, पेशागत दक्षता योग्य बनाउन प्रेस चौतारीले भूमिका खेल्नुपर्ने बताए ।

पत्रकार महासंघमा गठबन्धनका कारण जित्नेले हार्ने र हार्नुपर्नेले जित्ने गलत परिपाटीको सुरुवात भएको उनको भनाइ थियो । ‘दृष्टिकोण बनाउँदा संगठनलाई केन्द्रमा राख्नुपर्छ’ उनले भने, ‘संगठनलाई सही नीति, एजेन्डाले सबैभन्दा बढी सक्रिय बनाउँछ । यसमा चौतारीले भूमिका बढाउनुपर्छ ।’

वि.सं. २००८ सालमा सत्यनारायणबहादुर श्रेष्ठले स्थापना गरेको पत्रकार महासंघ हाल विपुल पोख्रेल अध्यक्ष भएको महासंघ नै रहेको उनले बताए । ‘इतिहास मेटाउन पाइँदैन । म यो इतिहास मेटाउने खेलको विपक्षमा छु’ उनले भने, ‘पत्रकार महासंघको इतिहास तोडमोड गर्न पाइँदैन, यसमा म स्पष्ट छु ।’

चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेले नयाँ पुस्तालाई संगठित गर्नुपर्ने, पत्रकार महासंघमा नेतृत्व स्थापित गर्ने सवालमा चौतारीले भूमिका खेल्ने बताए ।

अर्का उपाध्यक्ष सविन प्रियासनले प्रदेश सरकारले प्रदेश सञ्चार परिषद्लाई भूमिका दिन नसकेको प्रति गुनासो गर्दै दबाब सृजना गर्न आवश्यक रहेको धारणा राखे । चौतारीका महासचिव हिरामान लामाले संगठन निर्माण, विस्तार र सुदृढीकरणका लागि व्यक्तिवादी सिद्धान्त हाबी हुन नहुने, सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमा ध्यान दिनुपर्ने बताए ।

सभालाई नेकपा एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य, नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरे, प्रेस चौतारी लुम्बिनी इञ्चार्ज मोहन चापागाईँ, प्रेस चौतारी लुम्बिनी प्रदेशका सल्लाहकार भरत केसी, लुम्बिनी प्रदेश सञ्चार परिषद् संयोजक मिलन गाहा, संसदीय मामिला पत्रकारका अध्यक्ष घनश्याम गौतम, नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, चौतारी प्रदेश उपाध्यक्ष दशरथ घिमिरेलगायतका वक्ताहरूले परिवर्तनलाई संस्थागत गर्न सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले जनसरोकारको सवालमा प्रतिबद्ध भएर भूमिका खेल्नुपर्नेमा जोड दिए । सभामा महासचिव निरु गौतमले प्रगति, कोषाध्यक्ष ओपेन्द्र बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभाले नेपाल पत्रकार महासंघले एकतर्फीरुपमा गरेको सदस्यता शुद्धीकरणलाई पुनः विचार गर्न माग गर्दै ७ बुँदे घोषणा पत्र जारी गरेको छ । त्यसै गरी लुम्बिनी प्रदेश सरकारले सञ्चार समन्वय परिषद्लाई क्रियाशील बनाउन माग गर्दै तत्काल रजिष्टार नियुक्तिको व्यवस्था गर्न माग गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८० शनिबार ००:००  ९ : ०० बजे