२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

चौतारीको ७ बुँदे दाङ घोषणा पत्र जारी, सकृय पत्रकार हटाए आन्दोलन गर्ने



कपिलवस्तु ।
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको शनिबार दाङमा प्रथम साधारण सभा तथा भेला सम्पन्न भएको छ । दाङको राप्ती उपत्यका देउखुरीमा आयोजित साधारण सभाले ७ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमा मुख्य गरी महासंघको सदस्यता शुद्धिकरण, प्रदेशको संचार समन्वय परिषद्, आर्थिक मन्दीका कारण संचार क्षेत्रमा परेको नकारात्मक प्रभाव, महासंघको गरिमा र भूमिका, श्रमजीवि पत्रकारको हकहित र चौतारी सुदृढ बनाउने विषय समावेश गरिएको छ ।

प्रथम साधारण सभाको उद्घाटन प्रतिनिधी सभा सदस्य तथा एमाले पोलिटव्युरो सदस्य सुर्य थापाले गर्नुभएको थियो ।
घोषणा पत्र तयार गर्न गठित समितिका संयोजक भेषराज बस्नेतले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । समितिको सदस्यहरुमा डिलप्रकाश गौतम, सुदर्शन रिजाल, मोहन पौडेल, दशरथ घिमिरे र गीता अधिकारी रहनुभएको थियो । ७ बुँदे घोषणा पत्रको विस्तृत पाठ यहाँ उल्लेख गरिएको छ ।

१.नेपाल पत्रकार महासंघमा सदस्यता शुद्धिकरणको नाममा प्रेस चौतारी नेपालसम्वद्ध क्रियाशिल सदस्यलाई सदस्यताबाट हटाउने कार्य भएको प्रति यो भेला घोर भत्र्सना गर्दै शुद्धिकरणलाई पूनर्विचार गर्न मागगर्दछ ।
२.लुम्बिनी प्रदेश सरकारद्धारा गठित संचार समन्वय परिषद्लाई राजनीतिक प्रतिशोधका आधारमा भूमिका विहिन बनाइएकोले सञ्चार परिषद्लाई यथाशक्य क्रियाशिल बनाउन यो भेला लुम्बिनी प्रदेश सरकारसँग जोडदार माग गर्दछ ।
३.पछिल्लो समय देखिएको आर्थिक मन्दीलाई मध्यनजर गर्दै संचार माध्यमको दिगोपनाका लागि प्रभावकारी कदम चाल्न तीनै तहका सरकार समक्ष यो भेला जोडदार माग गर्दछ ।
४.आर्थिक संकट लगायत विभिन्न बहानामा संचार माध्यमबाट श्रमजिवि पत्रकारलाई पेशाबाट निस्कासन गर्ने तथा पारिश्रमिक नदिने कार्य तत्काल रोकी पेशागत सुरक्षाको माग गर्दछ ।
५.पत्रकार महासंघलाई अमुख दलको गतिविधि गर्ने संस्था बनाइएको छ । यो कार्यलाई तत्काल रोकी पत्रकार महासंघको गरिमा कायमगर्न यो साधारण सभा माग गर्दछ ।
६.पत्रकार महासंघको निर्वाचनलाई लक्षित गरी प्रेस चौतारीलाई सशक्त र सुदृढ गर्नप्रत्येक सदस्यले चौतारी म बनाउँछु भन्ने अभियान प्रदेशका सबै जिल्लामा सञ्चालन गर्न यो साधारण सभा माग गर्दछ ।
७. श्रमजीवी पत्रकारको दुर्घटना विमालाई प्रभावकारी बनाउन प्रदेश र संघीय सरकारसँग यो भेला माग गर्दछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८० आइतबार ००:००  १० : ३१ बजे