१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नवनियुक्त महिला मन्त्री चौधरी अमेरिका जाँदै



काठमाडौँ — बुधबारमात्रै पदभार ग्रहण गरेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी २२ जनाको जम्बो टोलीसहित अमेरिका भ्रमण जाने भएकी छन् । बिहीबारको मन्त्रिपरिषद्को बैठकले अमेरिकामा आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘कमिसन अन स्ट्याटस अफ वुमन’ को ६८ औं सत्रमा भाग लिनका लागि स्वीकृति प्रदान गरिसकेको छ । पदभार ग्रहण गरेको भोलिपल्टै विदेश भ्रमणको तय गरेको भन्दै मन्त्री चौधरीको आलोचना भइरहेको छ ।

मन्त्रीहरूले नियुक्ति भएपछि एक सातासम्म मन्त्रालयको योजना, कार्यक्रम, नीतिलगायतबारे जानकारी लिने अभ्यास रहँदै आएको छ । तर त्यसलाई बेवास्ता गर्दै नवनियुक्त मन्त्री चौधरी विदेश भ्रमणमा जान लागेकी हुन् । टोलीमा मन्त्री चौधरीसँगै मन्त्रालयका सचिव सुमनराज अर्याल र दुई सहसचिवसहित सात जना, महिला आयोगबाट तीन पदाधिकारी र दुई कर्मचारीसहित पाँच जना, राष्ट्रिय योजना आयोगबाट महिलाको क्षेत्र हेर्ने पदाधिकारी, समाज कल्याण परिषद्बाट दुई जना र महिला अधिकारवादीहरू हुनेछन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्यालले भने नियमित प्रक्रियाअन्तर्गत भ्रमण हुन लागेको बताएका छन् । ‘कमिसन अन स्ट्याटस अफ वुमन’ कार्यक्रम संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले आफ्नो देशको लैंगिक समानता र महिला शसक्तीकरणको अवस्थाबारे प्रस्तुति दिने राष्ट्रसंघकै सबैभन्दा ठूलो वार्षिक सभा हो । ‘यूएनमा सरकारले राजनीतिक प्रतिनिधित्व लगायतका प्रतिबद्धता जनाएको हुन्छ । देशले कति प्रगति गर्‍यो भनेर प्रस्तुत गर्नुपर्ने हुन्छ । यो महत्त्वपूर्ण मञ्च भएकाले धेरै देशहरू मन्त्रीकै नेतृत्वमा सहभागी हुन्छन्,’ नेपालबाट महिला मन्त्रीकै नेतृत्वमा जाने अभ्यास रहेको भन्दै उनले भने ।

टोलीमा अमेरिकास्थित नेपाली दूतावासबाट पनि तीन जना प्रतिनिधि थपिने जनाइएको छ । नेपालको प्रतिनिधित्व गर्दै २५ जनाको टोलीले आगामी मार्च ११ देखि २२ सम्म अमेरिकामा सम्पन्न हुने कार्यक्रममा सहभागिता जनाउनेछ । देशले आर्थिक संकट भोगिरहेको अवस्थामा जम्बो टोलीलाई विदेश भ्रमणमा जान मन्त्रिपरिषद्ले स्वीकृति दिएको भन्दै यसअघिदेखि नै आलोचना हुँदै आएको छ ।

सचिव अर्यालले भने टोलीको नेतृत्व गर्ने मन्त्री र सचिवबाहेकलाई सरकारले खर्च नव्यहोर्ने बताउँछन् । ‘मन्त्री र सचिवमात्रै सरकारको खर्चमा जाने हो, अरूका लागि सरकारको एकसुका पनि खर्च हुँदैन,’ उनले भने, ‘बाँकीले आफैं खर्च जुटाउन सक्नुभयो भने जानुहुन्छ, मिलेन भने मलाई लाग्छ आधामात्रै हुन्छौं होला ।’ यसअघि तत्कालीन महिला मन्त्री सुरेन्द्रराज आचार्यसहित २२ जनाको जम्बो टोली अमेरिका जाने तयारीमा थियो । तर सोमबार नयाँ मन्त्रिमण्डल गठन भएसँगै आचार्य बाहिरिए । चौधरी मन्त्री नियुक्त भएलगत्तै अमेरिका जाने विषयमा महिला मन्त्रालयका कर्मचारीले जानकारी गराएका थिए । त्यसपछि बिहीबारको मन्त्रिपरिषद् बैठकमा भ्रमणको स्वीकृतिका लागि प्रस्ताव पेस गरिएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८० शुक्रबार ००:००  ८ : ३६ बजे