७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

नेपाल हङकङसँग ७३ रनले पराजित



काठमाडौं ।
हङकङसँगको मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ।

हङकङको मिसन रोड ग्राउन्डमा शनिबार भएको खेलमा नेपाल २१३ रनको लक्ष्य पछ्याउने क्रममा १६.४ ओभरमा १३९ रनमै समेटिएको हो। नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ शेखले ३८ र रोहित पौडेलले ३० रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

हङकङका लागि एजाज खानले चार, इसान खानले तीन, इतिक इक्बल र नस्रुल्ला रानाले एक-एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको हङकङले ६ विकेटको क्षतिमा २१२ रन बनाएको थियो। हङकङका लागि बाबर हयातले विस्फोटक शतक प्रहार गरेका थिए। उनले ४९ बलमा तीन चौका र १३ छक्का प्रहार गर्दै ११० रन बनाए।

त्यस्तै, अंशी राथले ३९, मार्टिन कोटेजले ३१ र एजाज खानले २१ रन बनाए। तीन खेलाडी शून्यमा आउट भए।

नेपालका लागि आकाश चन्दले तीन, आरिफ शेख, प्रतिश जीसी र रसिद खानले एक-एक विकेट लिए। चन्दले डेब्यू खेलमै तीन विकेट लिएका हुन्।

हङकङ भ्रमणमा रहेको नेपाली टोलीले अब पपुवा न्युगिनी सहितको टी-२० शृङ्खला खेल्नेछ। त्रिदेशीय शृङ्खला अन्तर्गत पहिलो खेलमा नेपाल र हङकङ प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै, मंगलबार नेपाल र पपुवा न्युगिनीबीच दोस्रो खेल हुनेछ भने तेस्रो खेलमा बुधबार हङकङ र पपुवा न्युगिनी प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८० शनिबार ००:००  २ : ४५ बजे