१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

सञ्चालनमा आयो सालझण्डी सबस्टेसन, बुटवल र सैनामैना क्षेत्रको भोल्टेजमा सुधार हुने



काठमाडौँ ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ३३/११ केभीको सालझण्डी सबस्टेसन बिहीबार (चैत १ गते) देखि सञ्चालनमा आएको छ । यो सबस्टेसन सञ्चालन भएसँगै बुटवल तथा सैनामैना क्षेत्रको विद्युत् आपूर्ति तथा भोल्टेजमा सुधार हुने अपेक्षा गरिएको छ ।

सैनामैना नगरपालिका–९ सालझण्डीमा निर्मित उक्त सबस्टेसनमा २४ एमभिएको ट्रान्सफर्मर जडान गरिएको छ । यसबाट बुटवल र सैनामैना क्षेत्रको विद्युत् आपूर्तिम सुधार हुने लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख हरिप्रसाद पाण्डले बताए । रुपन्देहीको मोतिपुरदेखि सालझण्डीसम्म निर्माण भएको करिब २५ किलोमिटर ११ केभी लाइन सोही सबस्टेसनमा जोडिने उनले जानकारी दिए ।

‘मोतिपुर सबस्टेसनदेखि सालझण्डीसम्म लामो दूरीमा विद्युत् प्रवाह हुँदा प्राविधिक चुहावट भइरहेकोमा त्यही सबस्टेसनबाट आपूर्ति दिँदा चुहावटमा समेत कमी आउने छ,’ उनले भने, ‘यसले स्थानीय क्षेत्रमा गुणस्तरीय विद्युत् आपूर्तिको सुनिश्चितता गरेको छ ।’

सुरुमा आर के इन्टरनेशनलले ठेक्का लिई काम गरे पनि बीचमा ठेक्का तोडेर हाइटेन्सन स्वीच गियर नामको कम्पनीले निर्माण पूरा गरेको पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०८० शनिबार ००:००  ७ : ०३ बजे