१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

लुम्बिनीमा विश्व शान्तिका लागि अन्तर्राष्ट्रिय सम्मेलन



काठमाडौँ ।
आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सो सम्मेलनलाई उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज साँझ उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सो कार्यक्रममा भाग लिन १९ देशका गैरआवसायीय राजदूतहरू लुम्बिनी पुगिसकेका छन् । सम्मेलनमा अस्ट्रेलिया, बुल्गेरिया, क्रेच रिपब्लिका, इस्टोनिया, इन्डोनेसिया, मोरिसस, मङ्गोलिया, सर्बिया, तान्जानिया, स्लोभिनिया, आयरल्यान्ड, साइप्रस, कोस्टारिका, लाटभिया, स्पेन, डोमिनीकन रिपब्लिका, रोमानिया, सेचेलेस र पोल्यान्डका गैरअवसायीय राजदूतहरू त्यहाँ पुगिसकेका छन् ।

दुई दिनसम्म चल्ने सो सम्मेलन परराष्ट्र मन्त्रालय र नेपालमा कार्यरत अवैतनिक वाणिज्य दूतहरुको संस्था अन्तर कन्सुलर कर्पस नेपाल (एचसीसीएन) को संयुक्त आयोजनामा हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो सम्मेलनमा नेपाललाई प्रतिनिधित्व गर्ने विभिन्न १९ देशका गैरअवासीय राजदूत तथा विभिन्न देशका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, विदेश मामिलाका जानकार तथा सम्पदा विज्ञलगायतको उपस्थिति रहने बताइएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, नेपाल पर्यटन बोर्ड, लगानी बोर्ड, लुम्बिनी विकास कोषका उच्च अधिकारी, पर्यटन व्यवसायमा आबद्ध विभिन्न संघ संस्थाको पनि उपस्थिति रहने बताइएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार तथा पर्यटकीय विकासका लागि यो सम्मेलन गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अन्तर कन्सुलर कर्पस नेपालका प्रमुख विष्णुकुमार अग्रवालले यो सम्मेलनले विश्वका बौद्ध धर्मावलम्बीलाई नेपालसँग जोड्ने विश्वास लिएको बताए । यो सम्मेलनले पर्यटकीय क्षेत्रमा टेवा पुग्नुका साथै यस क्षेत्रमा लगानीको वातावरण बन्ने विश्वास लिएको उनले बताए ।

प्रकाशित मिति : ८ चैत्र २०८० बिहिबार ००:००  ६ : ३८ बजे