१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रदूषित धुवाँको मुस्लो तम्घास बजारमा फैलिएपछि…



गुल्मी ।
गुल्मी सदरमुकाम तम्घास बजारको फोहोर फाल्ने (डम्पिङ साइट) ठाउँबाट निस्केको धुवाँले तम्घासवासीले सास्ती भोग्दै आएका छन् ।

तम्घासको फोहोरलाई अहिले रेसुङ्गा नगरपालिकाको वडानम्बर-२ र वडानम्बर-७ को सिमानामा फाल्ने गरिउको छ ।

फोहोर व्यवस्थापनका लागि उपयुक्त ठाउँ नहुँदा त्यस वरपरमा बस्तीका नागरिकले वषौंदेखि प्रदूषित धुवाँको सास्ती भोगिरहेका छन् ।

फोहोर फाल्ने ठाउँबाट निस्केको धुवाँले तम्घासको उदिनढुंगा बागमारे, धागिथुम र वेदुखर्क भूजेल खर्क क्षेत्रका नागरिकहरु वषौंदेखि सास्ती भोगिरहेका छन् ।

यसक्षेत्रका नागरिकले फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) हटाउन वषौंदेखि आवाज उठाएका छन् । तर, सुनुवाइ भने भएको छैन् ।

फोहोर व्यवस्थापन गर्ने ठाउँ हटाउन प्रशासन र नगरपालिका पटक-पटक पुगेपनि कुनै पनि सुनुवाइ नभएको रेसुङ्गा नगरपालिका वडानम्बर-७ का स्थानीय धनिश्वर पाण्डेले बताए ।

फोहोर व्यवस्थापन गर्ने स्थानबाट दैनिकजसो निस्किने धुवाँको मुस्लो घरमै आउने भएकोले ज्येष्ठ नागरिकलाई झन् समस्या भएको स्यानीयको भनाइ छ ।

फोहोर बस्तीबाट टाढा व्यवस्थापन गर्नुपर्ने स्थानीय उजिर घर्तिको भनाइ छ ।

फोहोर फाल्ने ठाउँ नजिकै खानेपानीको मुहान पनि रहेको छ । फोहोरमा बसेका झिँगाका साथै फोहोरजन्य वस्तु हावाले सजिलै पानीमा पुग्छ ।

अर्को ओखरेनी खोलामा फोहोर फाल्दा तलका बस्तीहरुमा पुग्ने पानीमा पनि बगेर जाने समस्या रहेको छ । तर, यो समस्याको हालसम्म समाधान हुन सकेको छैन ।

कुहिने नकुहिने फोहोर सबै एकै ठाउँमा फाल्ने गरिएको छ । नसड्ने बस्तु पनि एकै ठाउँमा फाल्दा झन् समस्या भएको छ ।

तम्घास बजारको फोहोरलाई ०६१ सालबाट ओखरेनीमा फालिदै आएको हो ।

बजारलाई सुन्दर सफा बनाउने उद्देश्यले नगर विकास वातावरण संस्थामार्फत बजारको फोहोर उठाएर फाल्ने गरिएको छ ।

फोहोर व्यवस्थापन गर्दै आएको समितिले व्यवस्थित रुपमा फाल्ने ठाउँ अभावका कारणले फोहोरबाट मोहोर उत्पादन लक्ष्य अधुरै रहेको नगर विकास वातावरण संस्थाका अध्यक्ष रामप्रसाद पन्थीले बताए ।

व्यवस्थित ठाउँ भए सबै फोहोरलाई पैसामा बदल्ने गरी सञ्चालन गर्ने योजना रहेपनि मुख्य ठाउँको समस्या रहेको पन्थीले बताए । जग्गा अभावले समस्या भएको अध्यक्ष पन्थीको भनाइ छ ।

हाल तम्घास बजारबाट दैनिक ८ देखि १० ट्याक्टर फोहोर फालिंदै आएको छ । नगरपालिकाले वडानम्बर-९ बाट फोहोर संकलन केन्द्र राख्ने प्रक्रिया थालिएको थियो । तर, त्यहाँ पनि स्थानीयको बिरोध आएपछि कुनै पनि निर्णय हुनसकेको छैन् । उक्त ठाउँमा फोहोर संकलन केन्द्रको लागि केही काम समेत भएको थियो ।

नगरपालिकाले लामो समयदेखि फोहोर फाल्ने ठाउँको खोजी गरेपनि उचित ठाउँ नभएकै कारणले बस्ती र खानेपानीको मुहान नजिकै फोहोर फाल्न बाध्यता छ ।

अहिले नगरपालिकाले फोहोर फाल्नका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाए पनि संरचना निर्माण कार्य भएको छैन् ।

नगरपालिकाले हालफालिंदै आएको ठाउँलाई हटाएर अनेत्र सार्ने प्रक्रिया सुरु गरेको नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

तम्घास बजारलाई अहिले सुन्दर सहर बनाउने उद्देश्यले नगरपालिकाले त्यसतर्फ ध्यान दिँदै आएको पन्थीले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०८० बिहिबार ००:००  ११ : ०३ बजे