१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

वाणगंगा नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न



कपिलवस्तु । वाणगंगा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम वाणगंगा २ पिपरामा आज सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको सहजीकरणमा चालु आ.ब.२०८०।८१ को नगरपालिकाको दोश्रो सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कमल परियार, सविता पोख्रेल, उषा अर्याल, हेमन्त पौडेल, सीता लामिछाने, इन्दिरा पन्त लगायतले बाटोढल निर्माण कार्य गुणस्तरीय नभएको, नदिनालामा अनुगमन नभएको, समयमा कृषकको लागि बिउमल नपाएको, विद्युतका तारले सडक छुदा सम्म वेवास्ता गरेको, दुधको उचित मूल्य नपाएको, शैक्षिक क्षेत्रलाई प्रविधि मैत्री बनाउन नसकेको, छाडा पशु चौपायाको व्यवस्थापन नभएको, युवा पुस्तामा मौलाउँदै गएको लागुपदार्थ दुव्र्यसनी नियन्त्रण गर्न नसकेको, खानेपानी फोहोर व्यवस्थापन नभएको, सरकारी अस्पतालको सेवा प्रभावाकारी नभएको, भौगोलिक र जनसख्याको आधारमा बजेट विनियोजन नगरिएको लगायतका गुनासो राखेका थिए ।
नगरबासीका प्रश्नलाई सम्वोधन गर्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले नगरले योजनाबद्ध तरिकाले काम गरेको बताउनुभयो । रचनात्मक सुझावलाई सदैव ग्रहण गर्दै नगरवासी र नगरको विकासको लागि विशेष योजना र कार्यक्रमका साथ आफुहरु अगाडी बढिरहेको बताए ।

विद्यालय क्षेत्रमा हुने अधिक राजनितिलाई कम गर्न आफुले पहल गर्दै आएको बताउँदै उनले भने, ‘विद्यालय क्षेत्रमा सोझै राजनिति गर्नेलाई कारबाही गछौं । हाम्रो नगरभित्र त्यस्तो भएको पनि छैन् र हामी हुन पनि दिदैनौं ।’
उनले शिक्षामा गुणस्तरियता कायम गर्दै शैक्षिक उपलब्धिलाई वृद्धि गर्न नगरपालिकाले ल्यापटप वितरणदेखि भौतिक निर्माणका कामलाई प्राथमिकता दिएको बताए । बाणगंगा नगरपालिकाका ११ वटा आधारभूत स्वास्थ्य केन्द्र र पिपरा अस्पतालमा औषधी नभएको भन्ने विषयमा कुनै सत्यता नरहेको बताए ।

ठेकेदार पक्षले नदीलाई आवश्यक भन्दा बढी उत्खनन् गर्ने परिपाटीलाई रोक्न नगरपालिकाले निरन्तर अनुगमन गर्दै आएको उनले बताए । मेयर अर्यालले फोहोरमैला व्यवस्थापनका लागी नगरपालिकाले अल्पकालीन समाधानको उपायका रुपमा अहिले काम गरिरहेको बताए । फोहोरमैला व्यवस्थापनका सवालमा नगरवासीबाट कुनै पनि गुनासो नआएको बताउँदै उनले भने, ‘यो दीर्घकालीन समाधानको उपाय हो भनेर हामीले भनेका छैनौं ।’

उनले किसानहरुका लागी मलको अभाव हुनु बाणगंगा नगरपालिकावासीको मात्र नभएर देशव्यापी समस्या नै भएको बताए । नगरपालिकाले अनुमान गरेर मलको माग गर्ने गरेको तर मागको करिब २१ प्रतिशत मात्र मल प्राप्त हुने गरेको उनले सुनाए । उनले सुधार गर्नुपर्ने विषय कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाए ।

बाणगंगा नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले वडा नं२ का केही गाउँमा सडक निर्माण तथा कालोपत्रेको काम नभएको भन्ने विषयमा कुनै सत्यता नरहेको बतए । उनले विगतमा भन्दा तुलनात्मक रुपमा अहिले सडक पुर्वाधार निर्माणको काम तीब्र गतिमा भएको स्पष्ट पारे । उनले नगरदेखि प्रदेश र संघ सरकारसम्म आफ्नो निरन्तरको संक्रियतापछि वडामा प्राथमिकता साथ विकास भईरहेको बताए । वडाध्यक्ष पौडेलले सिंचाईका लागी आवश्यक पाईपको व्यवस्था यसै बर्ष गर्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरका कामकारबाही, उपलब्धि तथा गतिविधिका बारेमा जानकारी गराएका थिए । उनले नगरमा भौतिक प्रगति ६० प्रतिशत र वित्तिय प्रगती ४५ प्रतिशत भएको जानकारी दिए ।कार्यक्रममा सहभागीहरुको प्रश्नहरुमा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल र लेषबहादुर केसीले समेत जवाफ दिएका थिए ।

नागरिक प्रतिबेदन र बहिर्गमन प्रतिबेदन दिपक अनुरागीले प्रस्तुत गरेका थिए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका कोषाध्यक्ष मोहन बेल्वासेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा नगरउपप्रमुख रिता कुमारी चौधरी, ११ वटै वडाका वडाध्यक्षसहितका जनप्रतिनिधि, शाखा प्रमुखसहितका कर्मचारी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी, सरोकारवाला निकाय, संचारकर्मी र नगरवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०८० बिहिबार ००:००  ७ : ४६ बजे