१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

दीपेन्द्रले एकै ओभरमा ६ छक्का कसरी हाने ?



काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हान्दै इतिहास रचेका छन् । दीपेन्द्र नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी बनेका छन् ।

शनिबार ओमानमा भएको खेलमा उनले कतारका मध्यगतिका बलर कमरान खानलाई अन्तिम ओभरमा लगातार छक्का हानेका हुन् । नेपाल १९ औं ओभरमा १७४/७ को अवस्थामा थियो । दीपेन्द्रले अन्तिम ओभरमा ३६ रन हानेपछि नेपालको स्कोर २१० पुगेको थियो ।

दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको एक यादगार इनिङ खेले । दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा हानेको ६ छक्का यस प्रकार थियो ।

पहिलो बल : पहिलो स्लो सट बल थियो । दीपेन्द्रले त्यो बल मिड विकेटमाथि उठाउँदै छक्का हानेका थिए ।

दोस्रो बल : दोस्रो बलमा वाइड घेरा भन्दा बाहिर गर्दै बलर कमरान खान बच्न खोजेका थिए । तर दीपेन्द्रले त्यसलाई डीप प्वाइन्टमा सुन्दर छक्का हाने ।

तेस्रो बल : तेस्रो बलमा कमरानले पुन: सट गर्न खोजेका थिए । बलमा गति थिएन । त्यसैले सहजै रुपमा दीपेन्द्रले डीप मिडविकेटमा छक्का हाने ।

चौथो बल : सुरुवाती तीन बलमा छक्काले खान दबाबमा थिए, त्यसैले चौथो बलिङ अफ साइडमा फुल लेन्थमा गरे । त्यो बललाई दीपेन्द्रले कभरको माथि छक्का हाने ।

पाँचौं बल : कमरानले पुन: सट बल खेले । दीपेन्द्रले पहिलो र तेस्रोमा जस्तै डीप मिडविकेटमा छक्का हाने  । बलमा गति नहुँदा दीपेन्द्रलाई निकै सहज भएको देखिन्थ्यो । उक्त बल अर्को मैदानमा पुग्दा मलेसियाका फिल्डरले फालेका थिए ।

छैटौं बल : सुरुवाती पाँच बलमा छक्का खाएका खानले अन्तिममा स्लो सट बलिङ गरे । लेग साइडको बल दीपेन्द्रले डीप मिडविकेटमाथि शानदार छक्का हानेका थिए । यसरी उनी लगातार ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बने । उनी टी-२० आईमा भारतका युवराजसिंह र वेष्ट इन्डिजका काइरन पोलार्डपछि ६ बलमा ६ छक्का हान्ने पहिलो क्रिकेटर हुन् ।

नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी बनेका छन् । ओमानमा जारी एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका हुन् । दीपेन्द्र टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो र समग्र अन्तर्राष्ट्रिय क्रिकेटका पाँचौं खेलाडी बनेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८१ आइतबार ००:००  ७ : ३७ बजे