२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मसालका महामन्त्रीले भनेः सत्तावरपर घुम्ने दलहरू भ्रष्ट बने



काठमाडौँ ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सत्ताको वरपर घुम्ने राजनीतिक दलहरू भ्रष्ट बनेको बताएका छन्।

नेकपा स्थापनाको हीरक जयन्तीका अवसरमा आइतबार नेकपा (मसाल) ले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री सिंहले भ्रष्टाचार देशको प्रमुख समस्या भएको बताए।

दर्शनको अध्ययन नगरिकन कोही पनि कम्युनिस्ट बन्न नसक्ने धारणा राख्दै त्यसबारे सबैलाई जागरुक हुन आग्रह पनि गरे।

‘सत्तावरिपरि घुम्ने राजनीतिक पार्टीहरू भ्रष्ट भएका छन्। जनता पनि भ्रष्ट हुन थालेका छन्। त्यसैले उनीहरूले भ्रष्ट तत्त्वलाई सरकारमा पठाउने गर्दछन्’ उनले भने, ‘यसले जनताको चेतनास्तर पनि कमजोर भइरहेको अर्थात् दर्शन क्रान्तिकारी सिद्धान्तप्रति विस्मृति बढ्दै गइरहेकोलाई बताउँछ।’

सिंहले क्रान्तिकारी रूपान्तरण गर्नु भनेको पार्टीका नेताकार्यकर्ताहरूको दृष्टिकोण र कार्यशैलीमा पनि रूपान्तरण हुनु हो भन्ने धारणा राखे।
उनले नेकपा मसालभित्र पनि निर्णयको कार्यान्वयनमा समस्या रहेको स्वीकार गरे।

‘विश्वदृष्टिकोण र लेनिनवादी कार्यशैली अपनाउन नसकिएको समस्या यथावत् रहेका छन्’ उनले भने, ‘निर्णयको कार्यान्वयनमा समस्या हाम्रो पार्टीको मुख्य समस्या हो।’

उनले सही सिद्धान्त र दृष्टिकोणको समस्याले गर्दा मानिसहरू विभिन्न अवसरवादी पार्टीमा प्रवेश गर्ने गरेको बताए।

उनले पछिल्लो समयमा अध्ययनमा कमी तथा चिन्तन प्रणाली कम्युनिस्ट जस्तो नहुनु पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीको समस्या भएको औँल्याए।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, नेता आनन्द शर्मा, अखिल नेपाल महिला संघका अध्यक्ष एवम् पूर्वसांसद मीना पुन, अधिवक्ता पदम रोकालगायतले धारणा राखेका थिए।

प्रकाशित मिति : १० बैशाख २०८१ सोमबार ००:००  ८ : १३ बजे