२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

५ दिनभित्र पार्टीको सदस्यता त्याग्न शिवराजका मेयर थापाको शिक्षकलाई निर्देशन



मायादेवी अनलाइन, चन्द्रौटा ।
विद्यालय सुधारको महाअभियानमा लागेका कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले ५ दिन भित्र पार्टीको सदस्यता त्याग गरेको जानकारी गराउन शिक्षकलाई निर्देशन दिएका छन् ।

नगरपालिका भित्रका विद्यालयमा कार्यरत कुनै पनि शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा वा सदस्यता दिएको भए ५ दिन भित्र सम्बन्धित दल त्यागेको जानकारी पालिकामा गराउन नगर प्रमुख थापाले निर्देशन गरेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्रानुसार शिवराजमा कार्यान्वयन गराउन नगर प्रमुख थापा लागिपरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक कार्यमा संलग्न हुने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिदैँ आएकी छिन् ।

सोही चेतावनी अनुसार मन्त्रालयले देशभरका पालिकामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारीणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएमा शिक्षा ऐन २०२८ को दफा ङ को उपदफा ५ को खण्ड छ मा रहेको कानूनी प्रावधान कार्यान्वयनको लागि निर्देशन जारी गरेको हो ।

शिवराज नगरपालिकाका नगर प्रमुख थापा उक्त निर्देशन कार्यान्वयनका लागि अगाडि बढेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८१ बिहिबार ००:००  ८ : २१ बजे