२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

जवाफदेही र मर्यादित पत्रकारिता आवश्यक : अध्यक्ष बस्नेत



कपिलवस्तु । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आचार संहिताको पूर्ण पालना गरी जवाफदेही र मर्यादित पत्रकारिता गर्न आग्रह गर्नुभएको छ । उहाँले पत्रकारले निरन्तर खोज र खबरदारी गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय भजनकारिता तर्फ हाम्रो पत्रकारिता केन्द्रित भएकाले तथ्यमा रहेर विश्वसनीयता र मर्यादित बनाउन जोड दिनुभयो ।
कपिलबस्तुको गोरुसिङ्गेमा आयोजित सम्पादक सम्वाद र आचारसंहिताको सवाल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

सम्बाद कार्यक्रममा अहिलेसम्म अरुका विषयमा मात्रै हामी पत्रकारले कुरा उठायौं, समाचार लेख्यौं, अव यो समाजले हामीले के गरर्यौ भनेर पनि प्रश्न गरिरहेको अध्यक्ष बस्नेतले तर्क गर्नुभयो । पत्रकारले के गर्नुपर्दथ्यो ? के गरिरहेका छौं ? भनेर पनि प्रश्न उब्जेको छ, अध्यक्ष बस्नेतले भन्नुभयो । ‘हामी पनि यो समाजका सदस्य हौं, हाम्रा प्रत्येक कृयाकलापलाई समाजले हेरिरहेको छ । जुन समुदायको आवाज उठाउनु पर्ने हो, ति विषयमा संचारकर्मीले प्रयास गरे कि गरेनन् ? हामीले पत्रकारिताको दायित्व निर्वाह गरेका छौ, किन छैनौं, यी सवै प्रश्नहरुको जवाफ दिनुपर्दछ ।’ हामीले गर्ने पत्रकारिता निष्पक्ष र सन्तुलित हुनुपर्दछ, प्रश्न उठ्ने गतिविधी हामीले गरयौ भने हाम्रो पत्रकारिता माथी प्रश्न उठ्छ ? अध्यक्ष बस्नेतले सम्पादक, समाचार प्रमुख र जनप्रतिनिधी र सरोकार निकायलाई संगै राखेर यिनै बिषयमा छलफल गराउनुभएको थियो ।

उहाँले युट्युब प्लेटफर्ममार्फत चलेका मिडियालाई अन्य सञ्चारमाध्यम सरह अनुगमन तथा निगरानी भइरहेको बताउदै सम्पादक संवादबाट सुझावको अपेक्षा गरेको बताउनुभयो । यस्तै बस्नेतले प्रेस काउन्सिलमा प्राप्त हुने उजुरी, कारबाही प्रकृया लगायतका बारेमा जानकारी दिनुभएको थियो । पत्रकारहरुले चलाउने सामाजिक संजाल, लेख, रचना, समाचार सबै विश्वसनीय हुनुपर्ने भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालले उपत्यका बाहिर पहिलोपटक कपिलवस्तुबाट ‘सम्पादक संवाद’ कार्यक्रमको सुरुवात भएको हो । सहभागी सम्पादकहरूले सूचना प्रविधिमा आएको परिवर्तनसँगै युट्युबसहित सामाजिक सञ्जालको सञ्चारमाध्यममा देखिएका प्रभाव र चुनौतीलाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए । भ्युअर्स बढाउन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व के हो भन्ने पत्रकारले बिर्सन नहुने बताइएको थियो ।

प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर बेलबासेले पत्रकार आचारसंहिता, पत्रकारिताको दायित्व, काम, कर्तव्य र अधिकारबारे प्रकाश पार्दै पत्रकार भनेको को हो ? कस्तो हुनुपर्दछ र उनीहरुको सामाजिक परिचयका विषयमा कुरा राख्दै पत्रकार आचारसंहिताका प्रसंग उल्लेख गर्नुभएको थियो ।

बेल्बासेले कुनै पनि घटनामा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दा विचार गर्नुपर्ने बताउनुभयो । विज्ञापनदाताले सामाजिक सञ्जालमार्फत सिधै विज्ञापन दिँदा अहिले व्यावसायिक पत्रकारिता मर्न लागेको उहाँको भनाइ थियो । पत्रकारिता हामीलाई मात्र चाहिने होइन, सबैलाई चाहिने हो भने सबै गम्भीर हुनुपर्छ । सरकारले पनि सोच्नुपर्छ, उहाँको सुझाव थियो ।

नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यले पत्रकारले विश्वसनीयता र सबैले पत्याउने ढङ्गले असल पत्रकारिता गर्नुपर्ने बताउनुभयो । यस क्षेत्रभित्र बाहिर र भित्र देखिएका समस्या समाधान गर्नुपर्ने बताउँदै उहाँले साझा समस्या पहिचान गरेर समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका पूर्वअध्यक्ष मनोज पौडेलले कपी पेष्ट पत्रकारिता मौल्याएको बताउनुभयो । उहाँले युट्युब लगायतका सामाजिक सञ्जालका समाचार सामग्रीमा अनुगमन, नियन्त्रण र सम्पादन नहुँदा समाजमा नकारात्मक असर पर्ने गरेको बताउनु भयो । उहाँले समग्र कपिलवस्तुको पत्रकारिताको बर्तमान अवस्थाका बारेमा कार्यक्रममा प्रष्ट्याउनु भएको थियो ।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, बुद्धभूमि नगरपालिकाका प्रमुख केशब कुमार श्रेष्ठ र बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, प्रहरी उपरिक्षक नवरत्न पौडेल, सहायक प्रजिअ भविश्वर घिमिरेले विश्वसनीयता माथि प्रश्न उठेकोले तथ्यमा रहेर पत्रकारिता गर्न सुझाव दिएका थिए । नेपाल पत्रकार महासंघ कपिलवस्तुले समन्वय गरेको कार्यक्रममा सम्वाद कार्यक्रम निकै प्रभावकारी भएको र पत्रकारसंग अन्तरक्रिया गर्दा समस्या समाधानमा सहयोग पुग्ने भन्दै खुसी ब्यक्त गरेका थिए ।

कार्यक्रममा पत्रकार पार्वती पाण्डे, मोहन वेल्लवासे, भुपाल थापा, चन्द्रकान्त न्यौपाने, हरि घिमिरे, हरि आचार्यले जिल्लाको पत्रकारिताको अवस्था र समस्याको बारेमा अवगत गराएका थिए ।महासंघका अध्यक्ष किरणमान बज्राचार्यको अध्यक्षता, सचिव जानु पाण्डेको संचालन र उपाध्यक्ष हरि अधिकारीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८१ शनिबार ००:००  १० : ४९ बजे