९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

कपिलवस्तुको बाणगंगामा २ जना मृत अवस्थामा फेला



मायदेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगामा १ महिला र १ पुरुष मृत अवस्थामा फेला परेका छन् । बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोलमा एकै परिवारका श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका हुन् ।

मृतक श्रीमान् वर्ष ६० का टेकलाल भुसाल र श्रीमती वर्ष ५५ की जुठी भुसाल रहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताउनुभयो ।अहिले घटना स्थलमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटी आएको प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीसहितको टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रहरी नायव उपरीक्षक ओलीका अनुसार मृतक श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला परेका छन् भने श्रीमतीको शरीरमा केही चोट देखिएको बताइएको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा श्रीमान् श्रीमतीबिच कुनै विषयमा झगडा भएको र त्यसकै कारण श्रीमतीको हत्या गरी श्रीमानले पनि आफै आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ तर यसको वास्तविकता भने अनुसन्धान पछि मात्रै आउने प्रहरी नायव उपरीक्षक ओलिले बताए । यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१ बुधबार ००:००  १२ : ५२ बजे