१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शिक्षा योजना निर्माणका लागि सरोकारवालासंग छलफल



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिकाको वडास्तरीय शिक्षा योजना निर्माण सम्बन्धी कार्यशाला चारनम्बरमा सम्पन्न भएको छ । २ दिनसम्म संचालित समावेशी, अनिवार्य तथा गुणस्तरीय शिक्षा प्रवर्धनका लागि सरोकारवालाहरुसंगको छलफलबाट बाणगंगा नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को वडा स्तरीय शिक्षा योजना निर्माणको कार्य अघि बढाएको छ ।

सिद्धार्थ सामाजिक विकास केन्द्र र स्ट्रोम फाउण्डेशनको सहयोग तथा बाणगंगा नगरपालिकाको आयोजनामा ३ वटा वडाको शिक्षा योजना निर्माण गर्ने उद्देश्यले सरोकारवालाको सहभागीतामा कार्यशाला संचालन गरिएको बरिष्ठ कार्यक्रम संयोजक आरटी खानले जानकारी दिनुभयो ।

कार्यशालामा समग्र शैक्षिक अवस्थाको विश्लेषण, बाल विकास, आधारभूत तथा माध्यमिक शिक्षाको अवस्था, राम्रो पक्ष, सुधार गर्नुपर्ने विषयमा छलफल भएको थियो । नगरपालिकाले निर्माण गरेको शिक्षा योजना र आवधिक योजनामा आधारित भएर वडा तहमा शिक्षाको सोच, लक्ष्य, उद्देश्य, रणनीति, कार्यनीति तथा मुख्य कृयाकलापहरुका बारेमा वडागत छलफल गरिएको थियो ।

सहभागीहरुले समूहगत रुपमा छलफल गर्दै वडा स्तरीय शिक्षा योजना निर्माणको प्रकृया शुरु गरेका थिए । विद्यालयहरुले गुणस्तरीय शिक्षाका लागि गर्नुपर्ने कार्यहरुको सूची तयार गर्दै शिक्षा योजना निर्माणको कार्यलाई अन्तिम रुप दिन वडा स्तरमा कार्यदल समेत गठन गरिएको संयोजक खानले जानकारी दिनुभयो ।

उत्थानशील समुदाय विकासको लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण कार्यक्रम अन्तरगत वाणगंगा नगरपालिकाको गुणस्तरीय समावेशी शिक्षाका लागि विभिन्न तहमा सहयोग पु¥याउने योजना रहेको कार्यक्रमका प्रमुख प्रकाश घिमिरले बताउनुभयो ।

कार्यशालामा सहभागी शिक्षक, प्रद्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्षहरुले शिक्षा योजना निर्माण गरेर सामुदायिक विद्यालयको समग्र शैक्षिक गुणस्तर वृद्धि हुनेमा विश्वस्त भएका थिए । सरोकारवालाले आ–आफनो क्षेत्रबाट योजना कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सोही अवसरमा नगर प्रमुख चक्रपाणी अर्याल, उपमेयर रिताकुमारी चौधरीले नगरपालिकाको शैक्षिक सुधारका लागि विभिन्न निकायसंग सहकार्य गर्दै अघि बढेको बताउनुभयो । वडा स्तरीय शिक्षा योजना निर्माणको कार्यलाई प्रभावकारी ढंगले कार्यान्वयन क्रमशः सवै वडामा विस्तार गरिने बताइएको छ।

सिद्धार्थ सामाजिक विकास केन्द्रकी अध्यक्ष सूर्य कुमारी शाहीले नगरपालिकासंगको समन्वयमा आर्थिक सामाजिक शसक्तिकरण र शैक्षिक रुपान्तरणमा विगत लामो समयदेखि संस्थाले काम गर्दै आइरहेकाले यहाँका समुदायको जीवनस्तर माथी उठेको बताउनुभयो।

२ दिनसम्म संचालित कार्यशालालाई अर्जुन रेग्मीले सहजीकरण गर्नुभएको थियो भने बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसिले शिक्षा योजना निर्माणको काम सही समयमा भएकाले विद्यालयको शैक्षिक गुणस्तरमा उपलब्धी हासिल हुने बताउनुभयो ।

प्रकाशित मिति : २१ बैशाख २०८१ शुक्रबार ००:००  १० : ०८ बजे