४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दुबै मृगौला फेल भएपछि बाणगंगाकी अनिताले मागिन् सहयोगको याचना



जितपुर । कपिलवस्तुको बाणगंगाकी अनिता आले पछिल्लो ४ बर्ष यता एउटै पिडाले चिन्तामा छिन् । बाणगंगा नगरपालिका वडा नम्बर १ जितपुर (पत्थरैया) निवासी ३५ बर्षिया आले मगर दुबै मृगौला फेल भएका कारण पिडित छिन् ।

पछिल्लो चार वर्ष देखि मृगौलाको डायलासिस गरिरहेकी मगरलाई अहिले भने आर्थिक अवस्था कमजोर हुंदा उपचारमा समस्या परेको छ । परिवारमा उनको स्वास्थ्य समस्याका कारण आले परिवार पछिल्लो चार वर्ष देखि चिन्तामा पिरोलिएको छ ।

अनिताका श्रीमान पुरन आले श्रीमतीको उपचार गराउँदा आफ्नो सम्पतीले धान्न नसक्ने अवस्थामा पुगेपछि अहिले सहयोगको याचना गरेका छन् । उनी पेसाले सवारी चालक हुन । आफ्नो कामबाट आउने आम्दानीले श्रीमतीको मृगौला प्रत्यारोपण र थप उपचारमा खर्च धान्न नसक्ने भएपछि पिरोलिए । श्रीमतीको दुबै मृगौला फेल भएछि पुरनले आफ्नो नियमति सवारी चालकको काम पनि छोडे र श्रीमतीको उपचार र हेरचाहमा तल्लिन भए । अहिले आफ्नो आम्दानीको सबै स्रोत बन्द हुँदा थप कष्टकर दैनिकी चलाउनु परेको उनले गुनासो गरेका छन् ।

अनिताका परिवारमा उनका श्रीमानसहित सासु र देवर छन् । उनका देवर पनि शारिरीक अपाङ्गताको कष्टकर जीवन बिताइरहेका छन् । मृगौलाको समस्या भई उपचारमा लागेकी अनिता सुरुका केही वर्ष परिवारको सम्पतिबाटै मृगौलाको डायलासिस गराइन्। तर अहिले नियमित उपचारमा समेत उनलाई समस्या पर्ने गरेको छ । उनको उपचारमा मद्धत गर्नका लागि गत वर्ष गाउँमा केहि सहयोग रकम संकलन भएको थियो । तर यस बहेक अनिताले अन्य कुनैपनि सहयोग पाएकी छैनन् ।

अनिताको मृगौला प्रत्यारोपणका लागि उनका श्रीमान पुरनले आफ्नो मृगौला दिन तयार छन् । चिकित्सकसँग पनि उनीहरुले परामर्श लिए । उनको मृगौला प्रतयारोपण गर्न सकिने अवस्था छ । तर अन्य स्वास्थ्य परीक्षण गर्दा अनिताको शरीरमा मुटुको समेत समस्या देखियो । जसका कारण उपचारमा थप समस्या देखिएको छ । मुटुको समस्याका कारण मृगौला प्रत्यारोपणमा समस्या भएको चिकित्सकले बताएपछि आले परिवारलाई थप चिन्ताले पिरोलेको छ । उनका श्रीमान पुरन आले मगरले श्रीमतीको मृगौला फेल भएपछि आफ्नो मृगौला दिन तयार थिए । तर अहिले उपचारमा ठूलो खर्च लाग्ने भएपछि पुरनले आफ्नी ३५ वर्षीय श्रीमतीको जीवन बचाइदिन याचना गरेका छन् ।

हाल हप्ताको तीन दिन अनिताले गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा मृगौलाको डायलासिस् गराइरहेकी छिन् । हप्तामा तीनदिन बुटवल जाँदा र उपचारमा लाग्ने विभिन्न खर्च समेत धान्न आले परिवारलाई अहिले संकट परिरहेको छ । परिवारका सदस्य कसैको पनि नियमित आम्दानी नहुँदा उनलाई सहयोग गर्ने पनि कोही देखिएका छैनन् । जसका कारण यो परिवार अहिले थप पिडामा परेका छन् । उनले नजिकैको जेसिज भवन बैरियामा डायलासिस् सेवा सुरु भए धेरै सहजता हुने बताइन । श्रीमान् समेत काम छोडेर हप्तामा ३ पटक उनलाई डायलासिस गराउन बुटवल लैजान पर्छ । मानवीय नाताले यतिबेला उनलाई सहयोग चाहिएको छ । सहयोगी मनहरुलाई अनिताको फोन ९८१४४१९५६२ मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१ शनिबार ००:००  ४ : ४९ बजे