४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

१५ शैय्याको आधारभूत अस्पतालको उद्घाटन गर्दै विजयनगर, २६ गते केपी ओली आउने



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले १५ शैय्याको अस्पताल निर्माण गरेको छ । सिंगो गाउँपालिकामा सुविधा सम्पन्न सरकारी अस्पताल थिएन । संघीय सरकारको सर्शत अनुदानबाट पालिकाले १५ शैयाको आधारभूत अस्पताल निर्माण गरेको हो ।

रु १८ करोड १६ लाख बराबरको लागतमा निर्माण भएको यो अस्पतालको पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही बैशाख २६ गते औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको पालिकाका अध्यक्ष गोपाल थापाले जनाए ।
अस्पताल परिसरमा एक पत्रकार सम्मेलन मार्फत अध्यक्ष थापाले उक्त जानकारी दिएका हुन् ।

केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला देशभरका पालिकामा १५ शैय्याको अस्पताल बनाउने गरी बजेट विनियोजन भएको थियो ।

शहरी क्षेत्रमा पालिका नबन्नु पूर्व नै सुविधा सम्पन्न सरकारी अस्पताल बनेका भएपनि, पछि बनेका ग्रामीण तहका अधिकांश पालिकामा अस्पताल थिएन । यही परिवेशमा विजयनगरले संघीय सरकारको आधारभूत अस्पताल बनाउने नीतिलाई अवलम्वन गरेको थियो ।

ओली सरकारले अगाडि बढाएको योजना आफूहरुले सम्पन्न गरेको र उहाँबाट नै अस्पतालको उद्घाटन गर्नुपर्छ भनेर कार्यक्रम राखिएको अध्यक्ष थापाले जनाए ।

अस्पताल तोकिएको समयमा नै सम्पन्न भएपनि संघीय सरकारले यो बर्ष बजेट नदिएको उनले जनाए । अस्पतालको ठेकेदार कम्पनी विकाई-नवसिर्जनशिल जेभीले अस्पतालको काम सम्पन्न गरेपनि ६ करोड बढी भुक्तानी नपाएको थापाले बताए । यो चालु आवमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको लागि थप रकम नपठाएको उनले बताए । यस्तो परिस्थितिमा पूर्व प्रधानमन्त्री ओलीबाट अस्पतालको उद्घाटन गराउने र बजेट लगायतको समस्याबारे जानकारी गराउने आफूहरुको उद्देश्य रहेको उनले बताए ।

साथै उद्घाटन कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरा लगाउतका विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

बैशाख २६ गते बुधबार अस्पतालको उद्घाटन गरिएपनि अबको केही महिना भित्रै सेवा सुचारु गर्ने लक्ष्य राखिएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताए । अस्पताल निर्माणको काम लगभग सम्पन्न भएपनि यसको सञ्चालनका लागि आवश्यक उपकरण, चिकित्सक लगायतको प्रवन्ध मिलाउन अझै केही महिना लाग्ने उनले बताए ।

संघीय कार्यक्रम अनुसार अस्पताल बनेपनि कसरी सञ्चालन गर्ने भन्नेबारे अझै जानकारी नआएको तर पालिका आफूले गर्ने काम तत्काल अगाडि बढाउने उनले बताए ।

पालिका भित्र अस्पताल नहुँदा यहाँका नागरिक चन्द्रौटा, बुटवलदेखि भारतसम्म उपचारका लागि जान बाध्य छन् । अब भने पालिकाबासीले आफ्नै अस्पतालबाट सेवा लिन पाउने पालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरीले विश्वास व्यक्त गरिन् ।

१५ शैयाको अस्पताल १४ कठ्ठा जमीन भित्र बनेको हो । अस्पतालका लागि झण्डै एक दर्जन व्यक्तिले जग्गा दान दिएका छन् । अस्पताल परिसरमा अक्सिजन प्लान्ट, पोस्टमार्टम कक्ष, फायर फायरिङ, गार्ड हाउस, क्यान्टिन लगायतका संरचना पनि बनेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८१ सोमबार ००:००  १० : १० बजे