४ असार २०८१, सोमबार | Mon Jun 17 2024

पावरा–विक्रम क्षेत्रको बाणगंगा खोलामा एक्साभेटर प्रयोग, शीतगंगा नगरकै मिलेमतो



दीपक अनुरागी, कपिलवस्तु ।

अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चुरे क्षेत्रमा पर्ने बाणगंगा खोलामा एक्साभेटर प्रयोग गरी नदीजन्य पदार्थ उत्खननको अनुमति दिएको छ ।

विगत दुई महिनादेखि शीतगंगा नगरपालिका वडा नं. १४ मा पर्ने पावरा–विक्रम क्षेत्रको बाणगंगा नदीबाट ठेकेदारले एक्साभेटर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् ।

ठेकेदारसँगको ठेक्का सम्झौतामा कहीकतै एक्साभेटरको प्रयोग गर्ने उल्लेख नभएपनि सेटिङ मिलाएरै ठेकेदारले नदी दोहन गरिरहेका हुन् ।

ठेकेदारले एकाविहानै र साँझदेखि राति अवेरसम्म एक्साभेटरको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् । सिंगो गाउँका अगुवा, शीतगंगा नगरपालिका, जिल्ला प्रशासन, प्रहरी लगायतका जिम्मेवार निकायलाई मोटो रकम बुझाएर यो काम विगत एक महिनादेखि चलिरहेको पावर गाउँका एक जना अगुवाले मायादेवीलाई जानकारी दिए ।

ती गाउँलेको भनाई पुष्टाई गर्न आइतबार साँझपख पावर–विक्रमको बाणगंगा खोलामा पुग्दा एक्साभेटरले धमाधम नदीजन्य पदार्थ उत्खनन गरिरहेको थियो ।

साँझ परेपछि राति अवेरसम्म एक्साभेटरले नदीजन्य पदार्थ उत्खखन गरिरहेको प्रमाण आइतबार संकलन गरिएको छ । साथै राति अवेरसम्म नदीबाट निकालिएको नदीजन्य पदार्थ टिप्परको सहायताले नजिकैको स्थानमा ल्याएर ठेकेदारले माल डम्प गर्दै आएका छन् ।

रातभर र एकाविहानै नकालिएको माल दिनभर टिप्परले डम्पबाट ओसार्ने गरेका छन् ।

शीतगंगाले राष्ट्रिय गौरवको आयोजनाका लागि नदीजन्य पदार्थ उत्खनन दिनेगरी यहाँ ठेक्का लगाएको हो । ठेक्का लगाउदा नै ठूलो चलखेल भएको शीतगंगा नगरका एक जना कर्मचारीले नाम नबताउने शर्तमा बताए ।

ती कर्मचारीका अनुसार यहाँ तीन जना ठेकेदारले नदीजन्य पदार्थ उत्खननको अनुमति पाएका छन् । ठेकेदारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रयोग गर्ने गरी नदीजन्य उत्खननको अनुमति पाएको बताइएको छ । राष्ट्रिय गौरवको आयोजनाका नाममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाम बेचिएको छ । जबकी यो विमानस्थल बनेर सञ्चालन हुन थालेको बर्षौ वितिसकेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भनेर यहाँ नदीजन्य उत्खनन गरिएपनि ठेकेदारले कपिलवस्तु, रुपन्देहीमा रहेका विभिन्न क्रेसर उद्योग, निर्माणाधिन सडक लगायतका भौतिक संरचनामा माल पठाउँदै आएका छन् ।

यता शीतगंगा नगरपालिकाले भने निकै कम राजश्व लिएर ठेकेदारलाई यहाँ उत्खननको ठेक्का दिएको हो । स्रोतका अनुसार रु. ३५ लाखमा यस स्थानमा ठेक्का दिइएको हो । जबकी यो राजश्वको परिणाम ठेकेदारले एक साता भित्रै उठाइसकेका छन् ।

नगरपालिकाले भने कति परिणाममा नदीजन्य पदार्थ निकालियो नापचाँस नगरेको ती कर्मचारीको दाबी छ ।

‘ठेकेदारको मिलेमतोकै आधारमा नदीजन्य पदार्थ उत्खननको परिणाम भन्दा झण्डै ५ गुणा माल निकालिएपनि सिंगो नगर मौन बसेको छ,’ गाउँका एकजना अगुवाले आक्रोशित मुद्रामा भने ।

पावरा–विक्रम गाउँ नजिकै शीतगंगा नगरपालिका वडा नं. १४ को वडा कार्यालय छ । वडा कार्यालय नजिकै भएपनि ठेकेदारले अवैध नदी उत्खनन गरिरहदा जनप्रतिनिधि र कर्मचारी तै चूप, मै चूपको अवस्थामा छन् । यसले पनि मिलेमतोको आशंकामा बल पुग्छ ।

आइतबार साँझ बाणगंगा खोलामा पुग्दा एक्साभेटरले नदीजन्य पदार्थ उत्खनन गरिरहेको थियो । पत्रकार देखे लगत्रै ठेकेदारले नदी उत्खननमा संलग्न एक्साभेटर र टिप्पर जवरजस्त निकाले । सुरुमा नगरकै अनुमतिले नदीमा एक्साभेटर प्रयोग गरेको बताएका ठेकेदारका प्रतिनिधिले पत्र देखाउन आग्रह गर्दा कुरा फेरे । लगत्तै ठेकेदारका प्रतिनिधिले गाउँलेले भनेर नदीमा एक्साभेटर प्रयोग गरेको बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१ आइतबार ००:००  १० : ४३ बजे