१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पावराको बाणगंगा खोलामा एक्साभेटर लगाउने ठेकेदारमाथि कारबाही भएन



मायादेवी अनलाइन, बाणगंगा ।
अनुमति बिना एक्साभेटर लगाउने ठेकेदारमाथि शीतगंगा नगरपालिकाले एक्सन चाल्न सकेको छैन् ।

अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नं. १४ को पावरा विक्रम क्षेत्रको बाणगंगा खोलामा ठेकेदारले एक्साभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गरेको थियो ।

मायादेवी अनलाइनले आइतबार उक्त विषयमा प्रमाणसहित समाचार प्रकाशित गरेको थियो ।

अनाधिकृत रुपमा खोलामा एक्साभेटर प्रयोग गर्ने ठेकेदारमाथि शीतगंगाले कारबाही नगरेको हो ।

ठेकेदारमाथि किन कारबाही भएन् भन्ने मायादेवीको प्रश्नमा नगरका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले राजश्व शाखाले अनुगमन गरेर प्रतिवेदन ल्याएपछि मात्र भन्न सकिने बताए ।

फेरि सोही प्रश्न नगर प्रमुख छविलाल पौडेललाई राख्दा तुरुन्त कर्मचारी पठाए भन्ने जवाफ दिए ।

जबकी आइतबारनै यो विषय उठान भएको हो । एक्साभेटर प्रयोग भएको ४ दिन वित्न लाग्दा नगर प्रमुख पौडेलले विहीबार मात्र कर्मचारी पठाउँछु भन्दै उम्कने प्रयास गरे ।

नगरपालिका, प्रहरी प्रशासनको मिलेमतोमा पावराको बाणगंगा खोलामा एक्साभेटर प्रयोग गरिएको स्रोतको दाबी छ ।

ठेकेदारले एक्साभेटर प्रयोग गर्नका लागि विभिन्न निकायमा आर्थिक सहयोग गरेर अनुमति लिएको एक गाउँलेले दाबी गरे ।

ठेकेदारले एकाविहानै र साँझ परेपछि मात्र एक्साभेटर प्रयोग गर्नु नै मिलेमतोमा बल पुग्छ ।

यो ठेक्का राष्ट्रिय गौरवको आयोजनाको नाममा तीन वटा ठेकेदार ग्रुपले बिना प्रतिस्पर्धा पाएका छन् ।

शीतगंगा नगरपालिकाका राजश्व शाखाका कमल पन्थीका अनुसार रु. ४९ लाखमा आशिष, बुद्धहिमाल लगायतका ठेकेदार समूहले ज्वइन्ट भेन्चरमा यहाँ निकासीको ठेक्का पाएका हुन् ।

चैत्र १५ देखि निकासीको अनुमति पाएका ठेकेदारले आफूले निकाल्ने परिणामसमेत निकालिसकेका छन् । दिनहुँ एक्साभेटरले माल निकाल्दा निकाल्नु पर्ने परिणाम एक महिना अगाडी नै निस्किसकेको राजश्वका जानकार बताउँछन् ।

ठेकेदारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि माल लैजाने गरी ठेक्का लिएका हुन् । स्रोतका अनुसार अधिकांश माल ठेकेदारले विमानस्थल नभई अन्यत्र लगेर बेच्ने गरेका छन् । विमानस्थल निर्माण भइसकेको र रुपन्देही आसपास पनि खोलानाला रहेको कारण पावराबाट नै नदीजन्य पदार्थ लैजानुपर्ने स्थिति छैन् । गौरवको आयोजना देखाएर ठेकेदारले अर्को लुटको धन्दा मच्चाएको यसले पनि प्रमाणित हुन्छ ।

यो पनि पढ्नुहोस्… पावरा–विक्रम क्षेत्रको बाणगंगा खोलामा एक्साभेटर प्रयोग, शीतगंगा नगरकै मिलेमतो

प्रकाशित मिति : १७ जेष्ठ २०८१ बिहिबार ००:००  ८ : ४० बजे